Comments Add Comment

सरकारले आफ्नो गति र वेग बढाउनुपर्छ : खनाल

काठमाडौं, २२ कात्तिक । नेकपाका नेता झलनाथ खनालले सरकारलाई आफ्नो गति र वेग बढाउन सुझाव दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले समृद्धिका पाइलाहरु भर्खर भर्खरै चल्न थालेकाले अब गति बढाउनुपर्ने बताएका हुन् ।

‘अहिलेको गतिले पुग्दैन । त्यो भन्दा तिव्र गतिले अघि बढ्नुपर्छ । अझै तिव्रता र प्रभावकारिताका साथ काम गर्न सकियो भनेमात्रै युगले यो सरकारलाई बोकाएको उत्तरदायित्व पूरा गर्न सकिन्छ’ उनले भने ।

अहिले नागरिकले चाँडोभन्दा चाँडो विकास र समृद्धि चाहेको सुनाउँदै उनले भने, ‘सिँगो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस भन्ने चाहन्छ । हामी लामो समयदेखि गरिबीमा छौं र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं ।’

अहिले नेकपाभित्र अत्यन्तै नीतिनिष्ठ, सिद्धान्तनिष्ठ, विचारनिष्ठ, लक्ष्यनिष्ठ एकताको आवश्यकत्ता पनि नेता खनालले औंल्याए । उनले भने, ‘नेकपाभित्र मात्रै होइन, प्रतिपक्षी दल र सम्पूर्ण राजनीतिक शक्तिहरुकाबीचमा बृहत्त एकताको आवश्यकता छ । सिँगो राष्ट्रमा एकताको आवश्यकता छ । एकतावद्ध भएर गयौं भनेमात्रै यो देश विकास हुन्छ ।’

खनालले कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वमा मात्र अघि बढ्न सक्ने बताए । ‘कम्युनिष्ट पार्टी भनेको सामूहिक नेतृत्वको आधारमा मात्रै पार्टी चल्नसक्छ । सिँगो समाज नै सामूहिक नेतृत्व भयो भने अगाडि बढ्न सक्छ’ उनले भने, ‘सामूहिक नेतृत्वको अभ्यास गर्न सकेनौं भने समाज अगाडि बढ्न सक्दैन । एउटा व्यक्तिमात्रै सर्वज्ञ हुनैसक्दैन । यो ज्ञानको युग हो । यस्तो अवस्थामा कुनै एक व्यक्तिले ज्ञानको ठेक्का लिनैसक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment