Comments Add Comment

रुपवती अप्सराहरुको जालमा यसरी फसे ऋषिमुनीहरु

वेद र पुराणमा उल्लेख भए अनुसार अप्सराहरु अत्यन्तै सुन्दर र जादुमयी शक्तिहरुले सम्पन्न हुने गर्थे । उनीहरु गन्धर्व लोकमा रहने गर्थे । उनीहरुले देवलोकमा नृत्य र संगीतको माध्यमले देवताहरुलाई मनोरञ्जन दिने गर्थे ।

देवराज इन्द्रले आफ्नो सिंहासनको रक्षार्थ धेरैपल्ट सन्त तपस्वीहरुको कठोर तपस्यालाई भंग गर्नको लागि अप्सराहरुको प्रयोग गरेका थिए । अप्सराहरुको यस्तो प्रयोगले धरतीमा अप्सराबाट उत्पन्न मानिसहरुको वंश चल्यो ।

रम्भा

प्रमुख ११ अप्सराहरु मध्ये मानिने अप्सरा रम्भाका कैयौं चर्तिकलाहरु छन् । आफ्नो रुप र सौन्दर्यको कारण रम्भा तीनै लोकमा प्रसिद्ध थिइन् । यसैकारण हरेकले उनलाई हासिल गर्न चाहन्थे ।

रामायण कालमा यक्षराज कुबेरका पुत्र नलकुबेरकी पत्नीको रुपमा रम्भाको वर्णन गरिएको छ । भनिन्छ, रावणले रम्भासँग बलात्कार गर्ने प्रयास गरेको कारण रम्भाले उनलाई श्राप दिएकी थिइन, ‘आँफूलाई नचाहने स्त्रीसँग सम्भोग गरेमा तेरो तत्कालै मृत्यु हुन्छ ।’

यसै श्रापको डरले रावणले सीताहरण पछि सीतालाई नछोएको विश्वास गरिन्छ । महाभारतमा उनलाई तुरुम्ब नामक गन्धर्वकी पत्नी पनि बताइएको छ । स्वर्गमा अर्जुनको स्वागतको लागि रम्भाले नेतृत्व गरेकी थिइन् ।

एक पटक विश्वमित्रको घोर तपस्या देखि विचलित भएर इन्द्रले रम्भालाई बोलाइ विश्वमित्रको तपस्या भंग गर्न पठाएका थिए तर, ऋषि विश्वमित्रले इन्द्रको षडयन्त्र बुझे र रम्भालाई हजार वर्षसम्म शिला बनेर रहने श्राप दिए ।

अपराध इन्द्रले गरेका थिए फेरि सजायँ रम्भालाई किन मिल्यो भन्ने प्रश्न उठ्न पनि सक्छ । त्ययस्तै वाल्मीकि रामायणको कथा अनुसार एक ब्राहृमणद्धारा उनी ऋषिको श्रापबाट मुक्त भएकी थिइन् ।स्कन्द पुराणमा भने उनको उद्धारक श्वेतमुनि भएको बताइएको छ जसले छोडेको वाणबाट उनी शिलारुपबाट मुक्त भएकी थिइन् ।

उर्वशी

एकपटक इन्द्रको सभामा उर्वशीको नृत्यको समयमा राजा पुरुरवता उनीप्रति आकृष्ट भएका थिए त्यतिखेर उनको ताल बिगि्रएको थियो । यो अपराधको कारण इन्द्रले रुष्ट भएर दुवैलाई मत्र्यलोकमा रहने श्राप दिएका थिए ।

मत्र्यलोमा पुरुरवा र उर्वशी केही सन्तको साथमा पतिपत्नी बनेर रहन थाले । दुवैका कैयौं पुत्र भए । यीनका पुत्रमा एक आयुका पुत्र नहुष भए । नहुषको ययाती, संयाति, अयाति, अयति र धु्रव प्रमुख पुत्र थिए ।

यीनैमा ययातिका यदु, तुर्वसु, द्रुहु र पुरु भए । यदुवाट यादव र पुरुबाट पौरव भए । पुरुको वंशमा नै अगाडि गएर कुरु भए र कुरुबाटै कौरव भए । भीष्म पितामह कुरुवंशी नै थिए ।

यीनै उर्वशी एकपटक इन्द्रको सभामा अर्जुनलाई देखेर आकषिर्त भएकी थिइन र उनले इन्द्रसँग प्रणय निवेदन गरेकी थिइन् । तर अर्जुनले भने, ‘हे देवी हाम्रा पूर्वजले तपाईंसँग विवाह गरेर हाम्रो वंशको गौरव बढाएका थिए त्यसैले पुरु वंशकी जननी भएकाले तपाईं हाम्रो आमासमान हुनुहुन्छ ।’

अर्जुनको यस्तो कुरा सुनेर उर्वशीले भनिन्, ‘तिमीले नपुंशकजस्तो कुरा गर्यौ त्यसैले म तिमीलाई १ वर्षसम्म पुंसत्वहिन हुने श्राप दिने छु । यसरी उर्वशीको सम्बन्धमा सयौं कथाहरु पुराणमा मिल्न सक्छ ।

मेनका

मेनकाले आफ्नो रुप र सौन्दर्यले तपस्यामा लिन विश्वमित्रको तपस्या भंग गरिदिएकी थिइन् । विश्वमित्र सबैकुरा छोडेर मेनकाको प्रेममा डुबे । मेनकासँग विश्वमित्रले विवाह गरे र उनीहरुको एक सुन्दर कन्या भइन् जसको नाम शकुन्तला राखियो ।

शकुन्तला सानै थिइन त्यतिखेर मेनका उनलाई र विश्वमित्रलाई छोडेर इन्द्रलोक गइन । शकुन्तलाको पछि सम्राट दुष्यन्तसँंग विवाह भयो र उनीहरुको पुत्र भए जो राजा भरत थिए ।

मरुन्दणोको कृपाले नै भरतलाई भारद्धाज नामक पुत्र मिल्यो । भारद्धाज महान ऋषि थिए । यसै भरतको कुलमा राजा कुरु भए र उनले कौरव वंशको स्थापना गरे । कुरुको वंशमा शान्तनुको जन्म भयो । शान्तनुले गंगा र सत्यवतीसँग विवाह गरेका थिए । यसको मतलब उर्वशीको वंशलाई नै पछि मेनकाले अगाडि बढाइन् ।

पुंजिकस्थला

जहाँ उर्वशी र मेनकाले पुरुरवाको वंशलाई अगाडि बढाएका थिए त्यँहि पुंजिकस्थालाले वानर वंशलाई नयाँ आयाम दिएकी थिइन् । माता अंजनीबाट हनुमानको जन्म भएको कथा त सबैले सुनेका छन् ।

तर, थोरैलाई थाहा छ कि माता अंजनी इन्द्रको दरबारमा पुंजिकस्थला नामक अप्सरा थिइन् । उनले तपस्या गरिरहेका एक ऋषिसँग अभद्र व्यवहार गरिन् । ऋषिले उनलाई तँ वानर जस्तो स्वभाव भएकी वानरी बन भनेर श्राप दिए ।

ऋषिको श्रापसुनेर पुंजिकस्थला ऋषिसँग क्षमा याचना गर्न थालिन् त्यतिखेर ऋषिले दया देखाएर भने, ‘तेरो त्यो रुप पनि परम तेजस्वी हुनेछ । तेरो एक यस्तो पुत्रको जन्म हुनेछ जसको कीर्ति र यशले तेरो नाम युग युगसम्म अमर हुनेछ ।’

यसरी अंजनीलाई वीर पुत्रको आर्शिवाद मिल्यो । यो श्रापपछि पुजिकस्थला धरतीमा गइन र त्यहाँ एक शिकारीको रुपमा रहन थालिन् । त्यँही उनको भेट केसरीसँग भयो र दुवैमा प्रेम भयो । दुवैले विवाह गरे ।

केसरी र अंजनीले विवाह गरे तर सन्तान सुखबाट बञ्चित थिए । त्यतिखेरै मतंग ऋषिको आज्ञाले अंजनीले तपस्या गरिन । त्यतिखेर वायु देवताले अंजनीको तपस्याबाट प्रसन्न भएर ‘तिम्रो यहाँ सूर्य अग्नी एवम् सुवर्णसमान तेजश्वी वेदवेदांगको मर्मज्ञ विश्वन्ध महाबली पुत्र हुनेछन्’ भनेर वरदान दिए ।

पवनदेवको कृपाले अंजनीलाई एक पुत्र मिल्यो जसको नाम आंजनेय राखियो जो पछि गएर बजरंगबली हनुमानको नामले प्रसिद्ध भए ।

तिलोत्तममा

तिलोत्तमा स्वर्गकी परम सुन्दर अप्सरा थिइन् । तिलोत्तमाका कैयौं कथाहरु पुराणमा पाइन्छन् जसमा एक कथा अनुसार हिरण्यकशिपुको वंशमा निकुम्भ नामक एक असुर उत्पन्न भएका थिए जसको सुन्द र उपसुन्द नामक दुई पराक्रमी पुत्र थिए ।

ती दुईले कडा तपस्या गरे र त्यसबाट प्रसन्न भएर ब्रहृमाले उनीहरुसँग वर माग्न भने । दुवै असुरले ब्रहृमाजीसँग अमरत्वको वर मागे तर ब्रहृमाले यो वर दिएनन् ।

यसपछि दुवै भाइले हामी दुवैमा धेरै प्रेम छ र हामी आपसमा कहिल्यै लड्दैनौं भन्ने विचार गरे । उनीहरुलाई कहिल्यै पनि एक अर्काको विरुद्ध उनीहरुले केही नगर्ने विश्वास थियो । यसैले यो सोचेर उनीहरुले ब्रहृमासँग एक अर्कालाई छोडेर यो त्रिलोकमा उनलाई कसैले पनि मार्न नसक्ने बरदान मागे । ब्रहृमाले पनि तथास्तु भनिदिए ।

त्यसपछि दुवै भाइहरु सुन्द र उपसुन्दले त्रिलोकमा अत्याचार गर्न थाले, सबैतिर हाहाकार मच्चियो । यस्तो विकट स्थिती बुझेर ब्रहृमाले दुवै भाइहरुलाई लडाउन तिलोत्तमा नामकी अप्सराको सृष्टि गरे ।

ब्रहृमाको आज्ञापछि तिलोत्तमा सुन्द र उपसुन्दको निवास विन्ध्यपर्वत प्रस्थान गरिन् । एकदिन तिलोत्तमालाई दुवै भाईले हिँड्दै गीत गाँउदै गरेको देखे र होसहवास बिर्सिए । सुन्दले उपसुन्दसँग भने, ‘यो अप्सरा आजबाट मेरी पत्नी हुन् ।’ यो सुन्नासाथै उपसुन्द भडि्ए र भने, ‘तैँले एक्लै कसरी यो निर्णय लिन सक्छस् । उनलाई पहिले मैले देखेको हो त्यसैले मेरी अर्धागिनी बन्नेछिन् ।’

त्यसपछि बाल्यकालदेखि एक अर्काको लागि ज्यान दिन तयार हुने भाइहरु एक अर्काको ज्यान लिन तयार भए । धेरै समयसम्म उनीबीच लडाई चल्यो र अन्ततः एक अर्काको हातबाट मारिए ।

दुर्वासा ऋषिको श्रापले यहि तिलोत्तमा बाणकी पुत्री भएकी थिइन् । अष्टावक्रले पनि उनलाई श्राप दिएका थिए ।

घृताची अप्सरा

घृताची प्रसिद्ध अप्सरा थिइन् । एकपटक भारद्धाज ऋषिको तपस्या भंग गर्नको लागि इन्द्रले उनलाई पठाएका थिए । गंगा स्नान गरेर आफ्नो आश्रममा गइरहेको बेला भारद्धाजको नजर घृताचीमा पर्यो जो नदीमा स्नान गरेर बाहिर निस्किरहेकी थिइन् ।

भिजेको वस्त्रमा उनको कामुक शरीर र सुन्दरतालाई देखेर भारद्धाज ऋषि त्यँही रोकिए । आफ्नो आँखा बन्द गरेर उनले आफूलाई नियन्त्रण गर्ने प्रयास गरे तर सकेनन् । आँखा खोलेर उनले अप्सराको रुप र सौन्दर्यलाई नियाल्न थाले । कामवासनाद्धारा पिडित भारद्धाजको त्यँही विर्यपात भयो । त्यहि विर्यलाई उनले एक भाँडोमा राखिदिए जसबाट द्रोणाचार्यको जन्म भयो ।

पौराणिक कथा अनुसार घृताची कश्यप ऋषि तथा प्राधाकी पुत्री थिइन् । पौराणिक मान्यताअनुसार घृताचीले कैयौं पुरुषहरुसँग समागम गरेकी थिइन् । भनिन्छ, विश्वकर्माबाट पनि घृताचीको पुत्र भएको थियो । रुद्राश्वबाट घृताचीको दश पुत्र र दश पुत्र उत्पन्न भएका थिए ।

महषिर् च्यवनका पुत्र प्रमितिले घृताचीको गर्भबाट रुरु नामक पुत्र प्राप्त गरेका थिए । घृताचीको सुन्दर अनुहार देख्नसाथै वेदव्यास ऋषि कामाशक्त भएका थिए जसकारण शुकदेव उत्पन्न भए ।

माथि उल्लोखित पौराणिक कथाहरुबाट हामीले थाहा पाउन सक्छौं कि कसरी अप्सराहरुको मादक जालमा फसेर महान ऋषिहरुले आफ्नो तपस्या छोडेर संसारमा आफ्नो वंशको वृद्धि गरे । यी अप्सराहरुका अरु पनि धेरै चर्तिकलाहरु छन् ।

यस बाहेक अन्य अप्सराहरुले पनि धरतीमा आएर मनुष्य जातीलाई आफ्नो जालमा फसाएर कैयौं पुत्र र पुत्रीहरुलाई जन्म दिए । मानवको आधा जनसंख्या उनीहरुकै सन्तान भएको समेत मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment