+
+
Shares

विद्युत प्राधिकरणले सात दिनमै नयाँ मिटर जडान गरिदिने

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २६ गते १३:३४

२६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर सात दिनभित्रमै जडान गरिदिने भएको छ ।

यसैगरी, थ्री फेज र टिओडी नयाँ मिटर पनि १५  दिन र एक महिनाभित्रमा जडान गरिदिने प्रतिबद्धता प्राधिकरणले जनाएको छ । प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिंगल फेजको मिटर प्रयोग गर्छन् ।

ग्राहक सेवा प्रभावकारी बनाउन र कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

लोडसेडिङ अन्त्य गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइनको निर्माणलाई तिब्रता दिने लगायतका काममा केन्द्रित भएका छन् ।

घिसिङले ग्राहक सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्न निर्देशन दिएका हुन् । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महशुल वक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको ग्राहकबाट गुनासो आएपछि प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ ।

अब हरेक वितरण केन्द्रले आफूले प्रदान गर्ने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यत्तिको नाम तथा सम्पर्क मोवाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नुपर्ने छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रतिबद्धता पत्र आफू मातहतका कार्यालयहरुमा राख्न ८ वटै क्षेत्रीय कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।

सिंगल फेजको मिटर जलेमा वा विग्रेमा एक दिन, थ्री फेजको तीन दिन र डिओडी १० दिनभित्रमा जडान/मर्मत गर्ने प्रतिबद्धता प्राधिकरणले जनाएको छ । सर्भिस केवल तथा वितरण लाइन बिग्रेमा १२ बजेसम्म जानकारी आएको सोही दिन र त्यसपछिको भोलिपल्ट मर्मत गरिने छ । यसैगरी, मिटर रिडिङ र बिलसम्बन्धी समस्या १२ बजेसम्म जानकारी आएको सोही दिन र त्यसपछिको भोलिपल्ट समाधान गर्ने प्रतिवद्धता प्राधिकरणको छ ।

प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोवाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा अभिलेख गर्न सकिने व्यवस्था गरिएको छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई क्षेत्रीय कार्यालय र त्यस अन्तर्गतका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?