
२३ माघ, झापा । पत्रकारद्वय तीर्थ सिग्देल र सन्तोष आचार्यले संकलन, लेखन तथा सम्पादन गरेको ‘समृद्धि किताब’को मंगलबार आयोजित एक कार्यक्रमका बीच बिमोचन गरिएको छ ।
बिर्तामोडमा आयोजित ‘झापाको विकास बहस २०७५’ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुस्तक सार्वजनिक गरे ।
पुस्तकमा झापाका केही स्थानीय तहले आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ का लागि विनियोजन गरेका बजेट, नीति तथा कार्यक्रमहरु समेटिएका छन् ।
विमोचित पुस्तकमा संग्रहित विषयहरु बारे नेपालका पूर्व मुख्य सचिव तथा क्यानडाका लागि नेपालका पूर्व राजदूत डा. भोजराज घिमिरेले सटिक विश्लेषणसहित समीक्षा गरेका थिए ।
स्थानीय तहले बनाएका बजेट, नीति तथा कार्यक्रमका रुपहरु हेर्दा साहित्यजस्तै लाग्ने गरेको प्रष्ट्याउँदै पूर्व मुख्यसचिव डा. घिमिरेले अन्तरपालिका समन्वयका सम्बन्धमा कुनै कार्यक्रम समेटेको नपाइएको बताए ।
उनले थपे, ‘कुनै स्थानीय तहले कर्मचारीका लागि सेवा सुविधा विस्तार गरेका छन् त कुनैले नारैनारा बनाएको पनि भेटियो । म प्रष्ट गर्न चाहान्छु, नाराले समृद्धि आउँदैन, बजेट र योजनालाई समुचित उपयोग गर्नुपर्छ ।’
झापाको मेचीनगरमा स्थायी घर भएका र हाल वेलायतका काउन्सीलर धनकिरण गुरुङले समृद्धि किताव एवम् वेलायतमा विकासको अवस्थाका बारेमा चर्चा गरे ।
प्रतिक्रिया 4