
७ चैत, वीरगञ्ज । पर्सा र बारा जिल्लामा होली मनाउने क्रममा उछृङ्खल गतिविधि गर्ने र ट्राफिक नियम उलंघन गर्ने २९ जना पक्राउ परेका छन् । ६३ वटा मोटरसाइकलसमेत बरामद भएको छ ।
होलीको बाहनामा ट्राफिक नियम उलंघन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, एउटै मोटरसाइकलमा तीन जना चढ्ने, विना हेलमेट मोटरसाइकल चलाउनेहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । दिनभरीमा पर्सा जिल्लाका विभिन्न स्थानबाट २४ जना र ६० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई कानुन बमोजिम कारबाही गरेपछि छोडिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यसैगरी बारामा प्रहरीले ३ वटा मोटरसाइकल सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार होली शान्ति पूर्ण रुपमा सम्पन्न भएको दावी प्रहरीले गरेको छ । होलीमा साँझसम्म कुनै अप्रिय घटना हुन नपाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले होली शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । होली पर्वलाई मध्यनजर गरेर प्रशासनले पर्सा, बारामा विशेष सुरक्षा योजना लागु गरेको थियो । जस अन्र्तगत वीरगञ्ज महानगरपालिकामा मात्रै ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने जिल्लामा ७ सयको हाराहारीमा सुरक्षाकर्मी तैनाथ थिए ।
बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले पनि बारा जिल्लामा होली शान्ति र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् । सामान्य झै झगडा गर्ने र सवारी नियम उलंघन गर्ने केहिलाई नियन्त्रणमा लिएको भएपनि ठूला अप्रिय घटना नघट्को दावी उनको छ ।
‘कुटाकुट नै नहोस् भनेर हामीले सर्तकता अपनाएका थियौं, स–साना झै झगडा भएपनि अप्रिय घटना घटेको छैन, दिनभरी सवारी साधन खासै चलेनन्’ उनले भने ।
भोलि शुक्रबार पनि होली मनाइने
तराइका बारा, पर्सा, लगायत तराई मधेसका जिल्लामा बिहीबार बिहानैदेखि होली मनाउनेहरुको चहलपहल बढेको छ । एकथरीले भने होली भोली शुक्रबार मनाउँदैछन् । तराई मधेसमा बिहीबार मासांहारी भोजन नगर्ने समूहले भने भोलि होली मनाउन लागेका हुन् ।
यही कुरालाई मध्य नजर गरेर प्रदेश २ सरकारले बिहीबार र शुक्रबार दुवै दिन होलीको विदा दिएको छ । होलीको एकदिन अगाडि गरिने होलिका दहन भने गएराति नै गरिएको छ ।
होलिका दहनको भोलिपल्ट होली मनाउने परम्परा रहे पनि बिहीबारका दिन तराई मधेसका कतिपय पुरुष तथा विशेष गरि महिलाहरुले ‘वृहस्पति पर्व’ मनाउँछन् ।
विष्णु भगवानको प्रतीक मानेर वृहस्पतीको पूजा गर्ने गरिन्छ । हरेक बिहिबार पहेँलो रंगको कपडा लगाएर केराको फेदमा चनाको दाल, सख्खर, बेसार हालेको रोटी प्रसादीको रुपमा चढाउने चलन छ ।
प्रतिक्रिया 4