+
+

मौसमको खराबीका कारण विमान नउड्दा प्रधानमन्त्री ओलीको ब्यारेकमा बास !

नेपाली कांग्रेस ‘घण्टाकर्ण’ जस्तो भएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३ गते २१:११
Photo Credit : अनलाइनखबर अर्काइभ

३ वैशाख, नेपालगञ्ज । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ उदघाटनका लागि मंगलबार नेपालगञ्ज हुँदै सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली मौसम खराबीका कारण श्री एयरलाइन्सको विमान चल्न नसकेपछि नेपाली सेनाको ब्यारेकमा बास बसेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा भेरी बबईको सुरुङ ‘ब्रेक थ्रु’ गरिसकेपछि प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो सिक्टा सिँचाई आयोजनाको हवाई निरीक्षण गरेका थिए । प्रधानमन्त्री ओलीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट हेलिकोप्टर चढेर सुर्खेत पुगेको थियो ।

सुर्खेतबाट नेपालगञ्ज फर्किइसकेपछि प्रधानमन्त्री ओलीले उपमहानगरपालिकाभित्र खोलिएको होटल सोल्टीको उदघाटन गरे ।

प्रधानमन्त्री ओली मंगलबार नै काठमाडौं फर्किने कार्यक्रम थियो । तर, काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको विमान मौसमको खराबीका कारण नेपालगञ्जमा बस्न नसकी आकाशबाटै काठमाडौं फर्कियो । विमान नआएपछि प्रधानमन्त्री नेपालगञ्जस्थित सेनाको ब्यारेकमा बास बसेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

नेपाली कांग्रेस ‘घण्टाकर्ण’ जस्तो भयो

प्रधानमन्त्री ओलीले बाँकेमा नेकपाका अगुवा कार्यकर्ताहरुलाई सम्वोधन गरेका छन् । यसक्रममा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई ‘घण्टाकर्ण’ जस्तै भएको आरोप समेत लगाए । उनले कांग्रेसलाई यसअघि ‘नन्दीभृंगी’को उपमा दिएका थिए ।

कांग्रेसका नेताले प्रधानमन्त्रीको भाषण आउँदा टीभी बन्द गर्छु भनेको सन्दर्भ कोट्याउँदै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलको खरो आलोचना गरे । कांग्रेसले अरुका कुरा नसुनियोस् भनेर कानमा ठुल्ठुला घण्ट झुन्ड्याएर हिँडेको प्रधानमन्त्री ओलीले बताए ।

आफ्ना कार्यकर्तालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता प्रक्रिया अब चाँडै टुंगो लाग्ने आश्वासन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?