+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गोर्खा युद्धमा बजाइएको दमाईँ बाजा !

किन गरिँदैन प्रल्हाद गुरुङ्गको वीरताको कदर ?

डीबी नेपाली डीबी नेपाली
२०७६ वैशाख १२ गते ८:३१

दुई सय वर्षअघि सन् १८१४ अक्टोवर २२ तारिखमा नालापानी किल्लामा अंग्रेज सेनाले नेपाली भूमि र सेनामाथि आक्रमण गरेका थिए । वीर बलभद्र कुँबरको नेतृत्वमा गोर्खाली सेनाले नालापानी किल्लामा प्रतिरक्षा गरेका थिए ।

वीर गोर्खालीहरुको बहादुरी र पराक्रमका लागि अंग्रेजहरुले एक युद्ध स्मारकसमेत बनाइदिए, जहाँ बलभद्रको प्रशंसा गरिएको छ । संसारले सम्मान गरिरहेको छ । तर, नेपाल सरकारले त्यसको महत्व र स्मरण गर्न जानेको छैन ।

वरिष्ठ संस्कृतिविद्ध तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा.जगमान गुरुङका अनुसार नालापानी किल्लाको निर्माण अङ्गद घलेले गर्नुभएको थियो । नालापानी किल्ला युद्धमा गोर्खाली सेनासँगै नेपालका सीप, कलाका धनी समुदाय बाजागाजाका लागि दमाईँ र गन्धर्व, हातहतियारका लागि कामी र अन्य बन्दोवस्तीका लागि सार्की र अन्य जाति कुनै न कुनै रुपमा संलग्न रहेको पाइन्छ ।

यो वीरतापूर्ण युद्धमा कास्की जिल्ला रिभान चौरगाउँका नाथु प्रल्हाद डेन्डो पैगीलामा परिवारका वीर पुरुष सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई नेपाल सरकारले वि.सं.१८६२ सालमा सुवाङ्गी र नगरा निशान एवं बटालियन तैनाथ गरी युद्धमा खटाएका थिए ।

अंग्रेजसँगको राजगढ (राजगढ, सूर्यगढ र देऊथल नालापानीका सहायक किल्लाहरु हुन्) युद्धमा सुब्बा प्रल्हाद गुरुङले वीरगति प्राप्त गरेपछि उनको सम्मानका लागि नेपाल सरकारले साँहिला भाइ दलपति गुरुङद्वारा प्रल्हादको नगरा निशान सरकारमा विन्ती गर्दा वीर पुरुष प्रल्हाद गुरुङको वीरताको कदर गर्दै उक्त नगरा निशान सुब्बा प्रल्हाद गुरुङकै सम्मानमा अर्पण गरी त्यसको पूजाका लागि दुईसय मुरीको गुठी पनि राखिदिएका थिए ।

चौर गाँउका स्थानीय गुञ्जमान गुरुङका अनुसार नालापानी किल्लादेखि बोकेर ल्याएको डोको समेत केही वर्षअघिसम्म रहेको थियो । त्यो गौरवशाली सांस्कृतिक सम्पदाको वैभव र वीरताको प्रतीकस्वरुप आजसम्म पनि गुरुङ समुदायले पूर्खाको नासोका रुपमा पूजापाठ गर्दै आइरहेका छन् ।

प्रल्हाद गुरुङका छोरा, जयमंगल गुरुङ, जयमंगल गुरुङका छोरा दलबहादुर गुरुङका आठ छोराहरुले प्रत्येक वर्ष पालैपालो नगरा निशानीको पूजापाठ र शक्तिको उपासना गर्दै आएका छन् । कास्की, पोखराबाट १६–२० किलोमिटरको दूरीमा रहेको चौर गाँउमा प्रत्येक वर्षको चैते दशै र बडा दशैको नवमीको दिन नगरा निशानीको बोकाको बलिदिएर पूजा गर्ने गरिन्छ ।

विडम्वना त के छ भने वि.सं. १८७२ सालभन्दा अघि प्रयोग गरिएको नालापानी किल्लामा लँडाई हुँदा नगरा निशानीमा प्रयोग भएको झन्डा मक्किएर धुजाधुजा भएको अवस्थामा देख्न सकिन्छ ।

गोर्खाली सेनाको शक्तिः दमाईँ बाजा

नालापानी किल्लामा ४ देखि ६ जना दमाईँ बानादार रहेको कुरा अनुमान गरिएको छ । उनीहरुले खुट हानेर (नगरामा विशेष प्रकारको कोड भाषामा बजाएर शत्रुको सम्पूर्ण जानकारी दिने सञ्चार प्रविधि) संकेत दिएपछि मात्रै गोर्खाली सेनाले अंग्रेज सेनामाथि आक्रमण गर्ने गर्दथे । पहिला लास जलाउँदा दिप राग बजाएर आगो लगाउने र पानी नपर्दा पानी पार्ने राग बजाएर मानिसहरु काम्ने गरेकाले यो राग सितिमिति बजाउने गरिँदैन ।

नेपाल राज्य विस्तारको क्रममा सबै युद्धहरुमा दमाईँ जातिले बाजाको कमान्ड सम्हालेर युद्ध हुनुअघि बाजासहित विशेष तान्त्रिक पूजा र उपासनापछि सेनाहरुलाई मन्त्रमुग्ध पारिएपछि मात्रै शत्रुसँग लड्ने तागत प्राप्त हुने कुरालाई पुष्टि गरिएको छ ।

नालापानी किल्लामा पनि पञ्चैबाजा, नगरा लगायत विभिन्न हातहतियारसहित दमाईँहरुले तान्त्रिक पूजा र खुट हानेर सूचना दिएपछि सेनालाई बिजुली चम्के जसरी शत्रुसँग लड्न सक्ने बनाउँथे । अर्थात् दमाईँ जाति आदिम सञ्चार प्रविधिमा पोख्त थिए ।

देशको लागि वीर गति प्राप्त गर्ने प्रल्हाद गुरुङलाई राज्यले वेवास्ता गरेकोमा केही गुनासो पनि रहेको पाईन्छ । वीर गोर्खाली सेनाले नालापानी युद्धमा बेलायती तरवार र पञ्जावी हतियार समेत खोसेको प्रमाण देख्न सकिन्छ । गैंडाको छालाको ढाल, तरवार, खुँडा, खुकुरी, पञ्चैबाजाका टुक्राटुक्री, झन्डासहितको निशानी र नगरालाई अहिलेसम्म पूर्खाको वीरता र नासोका रुपमा बचाएर राख्नु चानचुने कुरा होइन ।

विकल्पः युद्ध सम्पदा संग्राहलय

भियतनाम, कम्बोडिया, चीन लगायत अरु थुप्रै विकसित देशहरुले आफ्नो विगतको इतिहासलाई संग्राहलयका रुपमा विकास गरी वार्षिक लाखौं पर्यटक भित्र्याइरहेका छन् । जसबाट देशको अर्थतन्त्रमा ठूलो टेवा पुगिरहेको छ ।

बिडम्बना नै भन्नुपर्छ, नेपालका नीति निर्माता, योजनाविद्धहरुको भने यसतर्फ ध्यान गएको पाइँदैन । पूर्वको बूढासुब्बा, पश्चिमको काँक्रेबिहार, अजयमेरुकोट आज खण्डहर बनी संरक्षणको पखाईमा छन् । विगतका शुद्र भनिएका उत्पीडितहरुका राज्य र कोटहरु समेत वेवास्ता र अदृश्यकरणको चपेटामा परेका छन् ।

ईसाई बृद्धिको हाउगुजीले विभिन्न निकायबाट मन्दिर निर्माण संरक्षणमा राज्यले ठूलो रकम परिचालन गरिरहेको छ । तर, बालुवामा पानी खन्याएजस्तो भएको छ । पूर्खाले सिर्जना र निर्माण गरिएको ऐतिहासिक सम्पदालाई वेवास्ता गरेर आज बनाए भोलि भत्किने सम्पदा बनाउनुको औचित्य छैन ।

पहिलो: सम्पदा संरक्षण र पर्यटक बृद्धिका लागि एकीकरण र राज्यविस्तारका क्रममा संकलित सम्पदाको एकीकृत वा तत्तत् ठाउँहरुमा युद्ध सम्पदा संग्रहालय बनाई भावी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ । दोस्रो– माओवादी द्वन्द्व र विगतमा भएका विभिन्न युद्धका संकलित सामाग्री संकलन गरी एकीकृत युद्ध सम्पदा संग्राहलय बनाई पुस्ता हस्तान्तरण गर्न सकिन्छ ।

साथै, स्वदेशी तथा विदेशी पर्यटक प्रवद्र्धन गरी अर्थतन्त्रमा टेवा दिन सकिन्छ । विभिन्न कोट, गढी र स्मारकहरुमा विशेष प्याकेज कार्यक्रम बनाई संरक्षण, सम्वद्र्र्धन र प्रवद्र्धन गरी युद्ध सम्पदा संग्राहलयको रुपमा विकास गर्न सकिन्छ । यसबाट पूर्खाको योगदानको कदर, इतिहासको संरक्षण, भावी पुस्तालाई हस्तान्तरण र स्वदेशी तथा विदेशी पर्यटक प्रवद्र्धनमा ठूलो टेवा पुग्न सक्छ ।

युद्धको अग्रमोर्चामा संगीत शक्तिको नेतृत्व गर्ने दमाईँ जाति लगायत सम्पूर्ण उत्पीडित समुदायले आज आफ्नै देशमा तिरष्कृत, अपमानित भएर विभेद भोग्नु परिरहेको छ । यी समुदायले देशका लागि गरेको योगदान र बलिदानको गाथा इतिहासको पानामा अट्न सकेको छैन । उनीहरुको उच्च मूल्यांकन किन आजसम्म हुन सकेको छैन ? गम्भीर विषय बनेको छ ।

पूर्खाहरुले नेपाली माटो र राष्ट्रिय स्वाभिमानका लागि गरिएका बलिदानहरु हाम्रा गौरवशाली इतिहास हुन् । उनीहरुको त्याग, तपस्या र समर्पणकै कारण आज हामी नेपाली हुनुमा गौरव महशुस गरिरहेका छौं । नेपाल र नेपाली भन्न पाइरहेका छौं ।

हाम्रो इतिहास जति सुनौलो छ, त्यति शानदार वर्तमान नहुनु हामी सबैका लागि पनि दुखद कुरा हो । दुई सय वर्षअघि हाम्रा वीर पूर्खाहरुले जसका विरुद्धमा हाँसी–हाँसी प्राण अर्पण गरेका थिए, आज उनीहरुकै पाउपूजा गर्नुजस्तो लजास्पद कुरा अरु के हुन सक्छ ?

हिजोका गौरवशाली सांस्कृतिक सम्पदाहरु बिलाउँदै, हराउँदै गैरहेका छ । त्योबेलाको एकीकृत र शक्तिशाली नेपाली मनहरु, आज विश्रृंखलित र खण्डित भैरहेका छन् । वीर पूर्खाहरुको वीरता, बलिदान, साहस र रगतको उच्च सम्मान गरी नेपाली माटो, समन्वयात्मक पहिचान र साझा राष्ट्रियतालाई अक्षुण राख्नु हामी सबै नेपालीको साझा कर्तब्य र दायित्व हो । यस तथ्य र यर्थाथतालाई मनन गरी वर्तमान पुस्ताले चिन्तन मनन् गर्नु जरुरी छ ।

हाम्रा पूर्खाहरुले देशका लागि गरेको योगदान र बलिदानको मूल्यांकन किन आजसम्म हुन सकेको छैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?