+
+

बादल लाग्दा आत्तिन्छन् डोटीका कैदीबन्दी

रामहरी ओझा रामहरी ओझा
२०७६ वैशाख २८ गते ११:४४

२८ वैशाख, डोटी । ‘नगर प्रमुख ज्यू, वर्षेनी करोडौंको बजेट चलाउनु हुन्छ । कारागारको जीर्ण अवस्थाका लागि पनि केही सोच्नु भएको छ ? आकाशमा बादल देखियो भने हामी आत्तिन्छौं ।’

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई आफ्नो पीडा पोख्दै कैदीबन्दी दिपेन्द्र जेठाराले भने, ‘भवन चुहिन्छ, हामीले सिलिङ्गमा प्लाष्टिक ठोकेका छौं, पानी पर्‍यो भने राति उठेर प्लाष्टिकमा भरिएको पानी बाल्टीमा खन्याउँदै रात बिताउँछौं ।’

शुक्रबार डोटी कारागारभित्र स्थापना गरिएको पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् मञ्जु मलासी । त्यतिबेला पुस्तकालयभन्दा जीर्ण कारागाराका कुरा धेरै भए ।

‘जम्मा २५ जना क्षमताको कारागारमा हामी ५१ जना बसेका छौं,’ दीपेन्द्रले भने, ‘न खेल्ने मैदान छ, न कुनै अरु सुविधा ।’

कारागारलाई पछिल्लो समयमा सुधार गृह भन्ने गरिएको छ तर यस्तो ठाउँमा कैदीहरु कसरी सुध्रिन्छन् भन्ने प्रश्न जेठाराले गरे । कारागारका नाइके समेत रहेका उनले भने, ‘छानो चुहिएर भिजेका लुगाहरु बर्खामा त कयौं दिनसम्म सुक्दैनन् ।’

छाना मर्मत मात्रै गरिदिएपनि आफूहरु राति सुख साथ निदाउन सक्ने वताउँछन् अर्का कैदी महेश्वर ओझा । उनी थप्छन्, ‘कैदीलाई श्रममा लगाउने भन्ने पनि सुनेको थिएँ, तर हामीलाई त बस्ने ठाउँ पनि राम्रो छैन ।’ उनी दैनिक ६० रुपैयाँ सिदामा चुहिने छानामुनी बस्नको पीडा आफूले व्यक्त पनि गर्न नसकिरहेको वताउँछन् ।

जवाफमा नगर प्रमुख मञ्जु मलासीले कारागारको नयाँ भवन बनाउनका लागि जग्गा खोजी भइरहेको वताइन् । ‘यो भवन जीर्ण भइसक्यो, नयाँ भवन बनाउनका लागि यो जमिनले पुग्दैन,” उनले भनिन, ‘नयाँ मापदण्ड अनुसारको कारागारको भवन बनाउने कुरामा हामी प्रयासरत छौं ।’

उनले कारागार वनाउने बिषयमा प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहसँग छलफल भइरहेको वताइन् । नयाँ भवन निर्माण गर्न समय लाग्ने भएका कारण तत्काल मर्मतका लागि आफूले नगरपालिकाको तर्फबाट पहल गर्ने आश्वासन मलासीले दिइन् ।

भवनको अवस्थाले आफू कारागारभित्र आउँदा जहिले पनि भावुक हुने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘भवनको अवस्था यस्तो छ, कैदीहरुका लागि खेल्ने ठाउँ छैन, समय कसरी बिताउने ?’ पौडेलले भने, ‘तपाईंहरुले भोगिरहेको पीडा अनुभूत गर्न खोज्दा भावुक हुन्छु म ।’

उनले नयाँ भवन निर्माणका लागि प्रयास भइरहेको बताउँदै भने, ‘कैदीबन्दीहरुले एकआपसमा झगडा नगरी मिलेर बस्न हुन आग्रह गर्दछु, जे जसरी तपाईंहरु योभित्र आउनु भएको छ, अब एक परिवार भएर बस्नुहोस् ।’

डोटीका प्रहरी प्रमुखप्रहरी उपरीक्षक बिद्यानन्द माझीको पहलमा स्थापना गरिएको उक्त पुस्तकालयका लागि पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले र्‍याक र जिल्ला प्रशासन कार्यालय बाट दराज उपलव्ध गराइएको सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सिद्धराज जोशीले बताए । उनले प्रहरी कार्यालय, जिनियस निरौला र सञ्चारकर्मीहरुबाट पुस्तकहरु प्राप्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?