Comments Add Comment

सीएफएल घुसकाण्ड : इटहरीका ‘नरे’ गौरादहमा सरे !

'घुस्याहा' कर्मचारीलाई अख्तियारको 'क्लिन चिट' रहस्यमय

२४ जेठ, इटहरी । उपमहानगरपालिकामा सडक बत्ती (सीएफएल) खरिद प्रकरणमा भ्रष्टाचार गरेर विवादमा तानिएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कार्यरत छन् । मिश्रलाई अहिलेसम्म अख्तियारले छोएको छैन । अख्तियारबाट जोगिन सफल मिश्रले गौरादह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निभाइरहेका छन् ।

गौरादहमा पनि मिश्रले इटहरीमा जस्तै मेयरलाई थाहै नदिइ कोटेसनमा आर्थिक कामहरु गर्ने र स्थानीयवासीलाई समेत दुःख दिने कार्य गरिरहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ ।

इटहरीबाट सीएफएलमा भ्रष्टाचार गरेर हिँडेको आरोप लागेका मिश्रले गौरादह नगरपालिकामा खेलेको भूमिकाबारे बताउँदै एकजना जनप्रतिनिधिले अनलाइनखबरसँग भने, ‘यिनले गौरादहबासीलाई बदनाम गर्दैछन्, मान्छेलाई दुःख दिएर हैरान छ । मेयरसँग पनि कुनै सल्लाह गर्दैनन्, आफ्नै मनले काम गर्छन् ।’

मिश्रले इटहरीमा जस्तै गौरादहमा पनि कोटेसनमा काम गर्ने पुरानै बानीलाई निरन्तरता दिइरहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । नगरपालिका स्रोत भन्छ, ‘बजेट छुट्टएिको छ भने मेयरलाई समेत थाहै नदिई उनी कोटेसनमा काम गर्छन् । जनप्रतिनिधिलाई नसोधी डीपीआर गर्छन् र जसलाई मनपर्छ, उसैसँग कारोबार गर्छन् ।’

यो पनि पढ्नुहोस्–इटहरी उपमहानगरको सीएफएल बत्तीमा भ्रष्टाचार भएको ठहर

प्रमुख प्रशासकीय अधिकृत मिश्र प्रायः कार्यालयमा नबस्ने र कहाँ जान्छन् भन्ने कुरा मेयरलाई समेत थाहा नहुने ती जनप्रतिनिधिले अनलाइनखबरलाई बताए । उनले भने, ‘मान्छेलाई अति नै दुःख दिएका छन् । कार्यालयमा प्रायः नबस्ने भएकाले चेक लिन आउने मान्छेहरु रित्तै र्फकन बाध्य हुन्छन् ।

यसअघि इटहरी नगरपालिकामा देखिएको रोग अहिले गौरादह नगरपालिकामा सरेको ती जनप्रतिनिधिले बताए । प्रशासकीय अधिकृत मिश्रको कार्यशैली देखेर गौरादह नगरपालिकाका मेयर रोहितकुमार साह वाक्कदिक्क भइसकेको ती वडाध्यक्षले जानकारी दिए ।

के हो सीएफएल काण्ड ? 

इटहरी उपमहानगरपालिकाको सीएफएल काण्ड चर्चित भ्रष्टाचार काण्ड हो । यही काण्डले गर्दा इटहरीमा मेयर द्वारिकलाल चौधरी यसअघि टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयसम्म तानिएका थिए ।

उपमहानगरपालिकाको आन्तरिक छानबिन कमिटीले सीएफएल खरिद काण्डमा तत्कालीन प्रशासकीय अधिकृतसहित केही कर्मचारीहरुको संलग्नता रहेको निष्कर्ष निकालेको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपमहानगरपालिकाका कर्मचारीलाई दोषी देखिँदा पनि अहिलेसम्म कुनै कारवाही गरेको छैन ।

मेयर द्वारिकलाल चौधरी ।

सीएफएल काण्डमा मुछिएका मिश्र गौरादहमा सरुवा भए पनि लेखा शाखाका प्रमुख लखनलाल चौधरी र जिन्सी शाखाका मनोज दाहाल भने अहिलेसम्म इटहरी उपमहानगरपालिकामै कार्यरत छन् । अख्तियारमा वयान दिएर फर्केका मेयर द्वारिकलाल चौधरीले आफूलाई अख्तियारले ‘क्लिन चिट’ दिइसकेको बताउँदै आएका छन् । उनले कर्मचारीलाई ‘भ्रष्टाचारी’ बताउँदै आएका छन् ।

इटहरी उपमहानगरपालिकामा ०७४ साउन १ देखि कात्तिक ७ का वीचमा ९७ लाख रुपैयाँ बराबरको सीएफएल बल्व र सेट खरिद गर्दा ६० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको समाचार मिडियामा आएपछि उपमहानगरपालिकाले मंसिर ९ गते छानबिन समिति बनाएको थियो ।

उपमहानगरपालिकाले छानबिन समिति बनाउनुभन्दा चार दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएर छानबिन थालेको थियो । अख्तियारले छानबिन गरिरहेकबै बेला वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमको अध्यक्षतामा ७ सदस्यीय छानबिन समिति बनेको थियो, जसले पुसको पहिलो साता मेयर द्वारिकलाल चौधरीलाई ११६ पेजको प्रतिवेदन बुझायो ।

छानबिन समितिले सीएफएल खरिदमा २० लाख भ्रष्टाचार भएको बताएको थियो । समितिले दोषी इंगित गरेकाहरुमा तत्कालीन प्रशासकीय अधिकृत सागर मिश्र, लेखा शाखा प्रमुख लखनलाल चौधरी र जिन्सी शाखा प्रमुख मनोज दाहाल थिए ।

इटहरी उपमहानगरपालिकामा ०७४ असार १४ गते निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरु चुनिएका हुन् । असारमा एकातर्फ चुनाव भइरहेको थियो, त्यसलगत्तै साउनदेखि मंसिरसम्म कर्मचारीहरुले सीएफएलमा घोटाला गरेका थिए ।

जनप्रतिनिधिहरु नभएका बेला सर्वदलीय बैठक बस्दै भ्रष्टाचार गरेर खान पल्केका उपमहानगरपालिकाका कर्मचारीहरुले इटहरी-९ को गजुरमुखी ट्रेडर्स र इटहरी-६ को पौडेल इलेक्ट्रोनिक्सबाट कोटेसनमा चार महिनामा पटक-पटक भुक्तानी दिएर सय प्रतिशतभन्दा बढी मूल्य तिरेर विना टेण्डर सडक बत्ती किनेका थिए । भुक्तानीका लागि चेकमा तत्कालीन कार्यकारी अधिकृत सागर मिश्रले हस्ताक्षर गरेका थिए ।

आफू अख्तियारमा समेत बसेर आएको कर्मचारी बताउने मिश्रले स्थानीय चुनाव सकिएलगत्तै आफू सरुवा हुने बेलामा भुक्तानी दिएका थिए । भुक्तानीको व्यवस्था मिलाउने लखनलाल चौधरी थिए, जो अहिले पनि इटहरीको लेखा शाखामा कार्यरत छन् ।

सीएफएल खरिदको डिमाण्ड तयार पार्ने जिन्सी शाखाका मनोज दाहाल थिए, जो अहिले पनि इटहरी नगरपालिकामै कार्यरत छन् ।

अख्तियारको ‘क्लिन चिट’ रहस्यमय 

सीएफएल खरिद प्रकरणमा भएको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन तयार भएसँगै ०७४ सालमा इटहरी उपमहानगर कार्यपालिकाको बैठक बस्यो । सो बैठकले भ्रष्टाचारमा संलग्न कर्मचारीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो ।

तर, इटहरीका जनताले कार्यपालिकाको निर्णयमा चित्त बुझाएनन् । उनीहरुले दोषीलाई माफी दिन नमिल्ने भन्दै भ्रष्टाचारीमाथि कारवाही हुनुपर्ने माग गरे । उपमहानगर कार्यालय अगाडि स्वतस्फूर्तरुपमा स्थानीयले विरोध प्रदर्शनसमेत गरे । इटहरी उद्योग वाणिज्य संघले समेत कर्मचारीहरुबाट भएको घोटालाको विरोध गर्‍यो ।

इटहरी कार्यपालिकाको निर्णयमा सम्बन्धित शाखाका कर्मचारीहरुलाई दोषी देखाउँदै भनिएको थियो, ‘सीएफएल प्रकरणमा सम्बन्धित शाखा प्रमुखलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सामान खरिद र आपूर्ति प्रक्रियामा रहेको त्रुटि कमीकमजोरी अब उप्रान्त दोहोरिन नदिन सम्बन्धित सबैलाई सचेत गरिएको छ ।’

यसरी उपमहाननगरपालिकाको छानबिन कमिटीले कर्मचारीको दोष देखाउँदा देखाउँदै पनि उनीहरुमाथि कारवाही नभएकोमा स्थानीयबासी र मिडियाले समेत नगरपालिका नेतृत्वको आलोचना गरे ।

अन्ततः यो केस अख्तियारमा पुग्यो र रहस्यमय तरिकाले दोषीहरुमाथि कुनै कारवाही नगरी यो घोटालालाई ढिसमिस पारियो । तत्कालीन कार्यकारी प्रमुख सागर मिश्रले आफू अख्तियारमा बसेर आएको कर्मचारी हुँ भन्नु र अख्तियारले यो भ्रष्टाचार काण्डमा सबैलाई ‘क्लिन चिट दिनु’ रहस्यमय रहेको स्रोतको भनाइ छ ।

छानबिनका क्रममा अख्तियारको हेडक्वार्टर टंगालमा बोलाएर इटहरीका मेयर द्वारिकलाल चौधरीलाई समेत केही घण्टा केरकार गरिएको थियो । त्यसपछि चौधरीलाई निर्दोष रहेको ठहर अख्तियारले गरेको थियो ।

स्रोत अगाडि भन्छ- तर, यो काण्डमा मेयरलाई मात्रै ‘क्लिन चिट’ दिइएन, सीएफएलमा घोटाला गर्ने उपमहानगरपालिकाका सबै कर्मचारीले रहस्यमय तरिकाले ‘क्लिन चिट’ पाए ।

यद्यपि मेयर चौधरीले भने सीएफएल खरीदमा सहभागी कर्मचारीहरुलाई भ्रष्टाचारीको संज्ञा दिँदै आएका छन् । ती कर्मचारीलाई मेयर चौधरीले राजीनामा दिन भनेका छन् । लेखा प्रमुख लखनलाई चौधरीलाई मेयर द्वारिकलालले ‘थारुका नामको कलंक’ बताएका छन् । हाल गौरादहमा कार्यरत मिश्र सीएफएल खरीदको मुख्य जिम्मेवार भएको मेयर चौधरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment