
२२ असार, काठमाडौं । पार्टी एकीकरण भएको १३ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक दस्तावेजमा सहमति जुटेको छ । पार्टीको विधान र नियमावलीलगायतका दस्तावेज प्रकाशित भएर कार्यन्वयनमा गइसके पनि विवादकै कारण राजनीतिक प्रतिवेदन छापिएको छैन ।
जनताको बहुदलीय जनवाद तथा जनयुद्ध जस्ता शब्द र कतिपय राजनीतिक कार्यदिशाका विषयमा सहमति जुटेको थिएन । अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच आइतबार बालुवाटारमा लामो छलफलपछि राजनीतिक प्रतिवेदनका विवादित विषयमा सहमति जुटेको स्रोतले जनाएको छ ।
दुवै अध्यक्षबीच पटक पटक यसबारेमा छलफल भएको र आइतबारको छलफल सहमतिमा पुगेको नेकपा स्रोतको भनाइ छ । एक वर्षअघि नै राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज अध्ययन गरेर सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।
पछिल्लो पटक सचिवालय बैठकमा समेत यसबारेमा कुरा उठेपछि दुवै अध्यक्षले आफूहरुले चाँडै टुंगो लगाउने बताएका थिए । यसबीचमा नेकपामा पार्टीको तत्कालिन कार्यक्रम जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्ने बहससमेत चलेको थियो ।
पछिल्लो पटक मदन भण्डारी जयन्तीका अवसरमा अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादनै अब जनताको जनवाद भएको बताएका थिए । सोही आधारमा राजनीतिक प्रतिवेदनमा सहमति जुटेको नेताहरुले बताएका छन् ।
राजनीतिक प्रतिवेदनमा सहमति जुटेपनि केन्द्रीय सदस्यहरुको कार्य विभाजनको एजेण्डा भने सेलाएको छ । एकपछि अर्को प्रकरणमा सरकारको नेतृत्व फस्दै गएपछि पार्टीको बैठक तथा कार्य विभाजन र एकीकरणका बाँकी काम अलपत्र परेका छन् ।
प्रतिक्रिया 4