Comments Add Comment

नेकपाको प्रतिबद्धतापछि पत्रकार महासंघको आन्दोलन फिर्ता

२४ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको आग्रहपछि नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनमा उत्रिएको महासंघले मंगलबार नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेतृत्वको टोलीसँग वार्ता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

कानूनमन्त्री भानुभक्त ढकालसमेत उपस्थित नेकपा संसदीय दलसँगको वार्तामा महासंघले उठाएका सबै सरोकार संशोधनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता आएकाले तेस्रो चरणका कार्यक्रम फिर्ता लिएर आन्दोलन स्थगित गरिएको अध्यक्ष गोविन्द आचार्यले बताए ।

सत्तारुढ नेकपाका राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले वार्तापछि महासंघ अध्यक्षलाई सम्बोधन गरी ३ बुँदे पत्र पठाएका थिए । त्यसमा मिडिया काउन्सिल विधेयकको सम्बन्धमा महासंघलगायतले काउन्सिल गठन, स्वायत्तता र जरिवाना गर्ने व्यवस्थालगायत उठाएको चासोर सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै, संघीय संसदमा प्रस्तुत अन्य सञ्चार सम्बन्धी बिधेयकहरुको हकमा संविधान र राष्ट्रिय आमसन्चार नीति २०७३ को आधारमा महासंघसहित अन्य सबै पुससँग छलफल गरी संसदीय प्रक्रिया बमोजिम निष्कर्षमा पुग्ने प्रतिबद्धतासमेत नेकपाले जनाएको छ ।

सत्तारुढ नेकपाको तर्फबाट आएको प्रतिबद्धता स्वागतयोग्य रहेको महासंघ अध्यक्ष आचार्यले बताए ।

मंगलबारको वार्तामा नेकपाका महासचिव बिष्णु पौडेल, नेताहरु योगेश भट्टराई, दिनानाथ शर्मा, कृष्णगोपाल श्रेष्ठ, नवराज सिलवाललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment