काठमाडौं । अस्ट्रेलियाका पूर्व क्रिकेट अम्पायर तथा आईसीसी अम्पायर प्यानलका पूर्व सदस्यसमेत रहेका साइमन टफेलले न्युजिल्याण्ड र इंग्ल्याण्डबीच भएको विश्वकप फाइनल खेलमा अम्पायरले गल्ती गरेको बताएका छन् ।
ट्रेन्ट बोल्टले गरिरहेको अन्तिम ओभरमा स्टोकमा ब्याटमा लागेर भएको ओभर थ्रो बाउण्ड्रीमा ५ रन दिनुपर्नेमा ६ रन दिनुमा अम्पायरको गल्ती भएको उनले बताएका हुन् ।
क्रिकेट नियमलाई हेर्ने हो भने १९.८ मा भएको ‘ओभर थ्रो र फिल्डरले गरेको गल्तीसम्बन्धी नियम’मा हेर्ने हो भने उक्त ओभर थ्रोपछि इंग्ल्याण्डको खातामा ६ रन होइन ५ रन जोडिनुपर्ने थियो । किनभने पहिलो रन पूरा गरेर दोस्रो रनका लागि दौँडदा फिल्डरले बल फाल्ने समयमा दुई ब्याट्सम्यान क्रस भएका थिएनन् । त्यसैले दौडिएको एक रन र ओभर थ्रोको चार रन गरी पाँच रन दिनुपर्ने थियो । ६ रन दिइँदा चौका भएको अवस्थामा रन लिइएको जस्तै भएको बहस भइरहेको छ ।
उक्त नियममा लेखिएको छ, ‘यदि ओभर थ्रोमार्फत या फिल्डरले केही गल्ती गरेर बाउण्ड्री हुन्छ तब ब्याट्सम्यानले जोडेको रनलाई पनि समावेश गर्नुपर्ने हुन्छ । यदि पूरा गरेको रनका साथै रनका लागि दौडिरहँदा फिल्डरले बल फाल्नु अगाडि नै दुई ब्याट्सम्यान क्रस गरिसकेका छन् भने उक्त रन पनि जोडिन्छ ।’
यसैले लगातार पाँच वर्ष आईसीसी अम्पायर अफ दि एयरको उपाधि जितेका टफेलले भनेका छन्, ‘यो सरासर गल्ती हो । निर्णयमा भएको त्यो गल्ती हुनु हुँदैन थियो । उनीहरुलाई पाँच रन नै दिइनुपर्थ्यो, ६ होइन ।’
अन्तिम ओभरको चौथो बलमा रन लिने बेला भएको उक्त गल्तीका कारण अर्को गल्ती दोहोरिएको टफेलको भनाई छ । एक रन पूरा भएको र अर्को रन लिने बेला क्रस नहुँदै फिल्डरले बल फालेको र ओभर थ्रोमा चार रन आएकाले पाँचौ बल स्टोकले नभई राशिदले खेल्नुपर्ने टफेलले बताएका छन् ।
‘दोस्रो रनका लागि उनीहरु क्रस भइनसक्दै थ्रो फालिएको देखिन्छ । त्यसैले त्यतिबेला पाँच रन दिनु नै न्यायपूर्ण हो । अझ त्यसमा बेन स्टोकले नभई पाँचौ बल राशिदले खेल्नुपर्ने थियो’ उनले भनेका छन् ।
अम्पायरको बचाव गर्दै टफेल अगाडि भन्छन्, ‘त्यो समय त्यहाँ धेरै कुरा भइरहेको थियो । ठीक त्यही अवस्थामा ब्याट्सम्यानले क्रस गरिसकेको बुझिएरै ६ रन दिइएको हुनुपर्छ । फिल्डर र रनरमा एकैपटक आँखा पुर्याउँदा मिस भएको हो कि ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4