१९ भदौ, काठमाडौं । भारतले एसीसी यू-१९ एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
श्रीलंकामा आजदेखि सुरु भएको यू-१९ एसिया कप क्रिकेटमा भारतले कुवेतलाई सात विकेटले पराजित गरेको हो । मैदान ओसिलो भएपछि २३ ओभरमा छोट्याइएको खेलमा भारतले १११ रनको सामान्य चुनौती पाएको थियो ।
विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले १९.१ ओभरमा तीन विकेटको क्षतिमा भेटायो । भारतका लागि अर्जुन आजादले अविजित ६० रन बनाउँदा नेहल वाधराले १८ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको कुबेतले २३ ओभरमा सात विकेटको क्षतिमा ११० रन बनाएको थियो । कुवेतका लागि मित भावसारले २८ र गोकुल कुमारले २५ रन बनाएका थिए ।
यू-१९ एसिया कपअन्तर्गत भोलि दुई खेल हुदैछन् । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टिम श्रीलंकासँग ९ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को खेलमा बंगलादेश र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।