Comments Add Comment

गर्ल्स होस्टेल : युवतीहरुको स्वतन्त्र संसार

विभिन्न कारणले गर्दा आजभोलि युवतीहरु घर छोडेर अर्को शहर जानु पर्ने बाध्यता हुन्छ । घरबाट टाढा गएर कहाँ बस्ने ? कहाँ खाने ? घरमा जस्तो अनेक सुविधा घर बाहिर कसरी पाउने ? भन्ने कुरालाई ध्यानमा राख्दै अचेल शहरमा गर्ल्स तथा ब्वाइज होस्टेलहरु प्रशस्त खुलेका छन् ।

दुई तीन तल्ले घरलाई भाडामा लिएर त्यस्ता होस्टलहरु सञ्चालन गरिन्छ । त्यस्ता होस्टेलमा खान, सुत्नदेखि घरका जस्तै सुविधाहरु प्रदान गरिन्छ । त्यहाँ बस्नेले निश्चित रकम तिरेपछि उनीहरुले खाना पकाउने, कोठा सफा गर्ने, भाँडा माझ्ने, किनमेल गर्ने जस्ता कुनै पनि कामहरु गर्नु पर्दैन । जुन उद्देश्यका कारण घर छोडेर होस्टेल बसेको हो, त्यो उद्देश्यमा मात्र केन्द्रित भए पुग्छ । त्यस्ता सुविधाहरुका कारण आज होस्टेलको माग पनि बढेको छ भने होस्टलमा बस्नेको संख्यामा पनि वृद्धि भएको छ ।

शहरमा सञ्चालमा रहेका अधिकांश होस्टलहरु गर्ल्स तथा ब्वाइज गरी दुई वर्गमा विभाजित गरिएका हुन्छन् । केही वर्ष अघिसम्म युवतीहरुको तुलनामा युवकहरु बढी होस्टलमा बस्न मन पराउँथे । तर, अचेल युवतीहरु समेत ढुक्क भएर होस्टलमा बस्न थालेका छन् । उनीहरु होस्टलमा अति नै रमाइलो गर्छन् र आफ्नो जीवन खुलेर बाँच्छन् । उनीहरु त्यहा ठट्टा गर्ने, हाँस्ने-हँसाउने, चल्ने, झगडा गर्ने जस्ता अनेक क्रियाकलाप गरेर रमाउने गर्छन् ।

गर्ल्स होस्टलमा युवतीहरुको एउटा भिन्नै संसार हुन्छ । होस्टलमा रमाइलोसँगै एक किसिमको डरले पनि सताउँछ भने होस्टलको बसाइँ कहिलेकाहीँ निरस पनि लाग्न सक्छ ।

प्रायः युवतीहरु आफू होस्टलमा बस्छु, एक्लो हुँदा परिवारको कुनै दबाव र डर हुँदैन, जीवन स्वतन्त्र र रमाइलो गर्दै बिताउँछु भन्ने सपना हुन्छ । तर जब उनीहरु होस्टलमा बस्न थाल्छन्, त्यो समयमा उनीहरुलाई परिवारको साथको सम्झना आउन थाल्छ । जुन माया-प्रेम र सुरक्षा आफ्नो परिवारबाट प्राप्त हुन्छ, त्यो अन्य कहीँबाट पनि प्राप्त हुँदैन ।

यसको अर्थ सबै होस्टलमा सुरक्षा हुँदैन अथवा रमाइलो हुँदैन भन्ने होइन । कतिपय होस्टलहरुमा तपाइर्ंलाई घरको जस्तो वातावरण पनि प्राप्त हुन्छ र तपाईंलाई गुनासो नगरी रमाएर बस्नु भएको पनि हुन्छ । तर सुरक्षाका कारण तपाइर्ंलाई मनमा कतै डर त अवश्य लाग्न सक्छ ।

सुरक्षाको कुरा गर्नु पर्दा यदि होस्टलमा गार्ड भएन र राम्रो वार्डेन भएन भने त्यो होस्टल असुरक्षित हुन्छ । त्यस्तै एउटै कोठामा बस्ने रुम पाटर्नर राम्रो भएन भने सामान चोरी हुने जस्ता छुट्टै किसिमको डर पनि हुन्छ । होस्टलमा पैसा र लुगा चोरी हुने समस्या धेरै हुन्छ । प्रायः युवतीहरुसँग सामान चोरी हुने घटना घटेको हुनाले कडा सुरक्षा भए पनि सधंै युवतीहरुको मनमा आफ्नो सामान र पैसा चोरी हुने डर रहिरहन्छ ।

यद्यपि यस्ता स-साना समस्याहरु बाहेक होस्टलको जीवन रमाइलो र मस्तीले भरिपूर्ण पनि हुन्छ । एक-अर्काको कुरा काट्नु, बाझ्नु, रमाइलो गर्नु जस्ता कुराहरु होस्टलमा चल्छ ।

एक-अर्कासँग मिलेर रमाइलो गर्ने वातावरण मिलाउनु, जन्मदिन मनाउने जस्ता रमाइलो क्रियाकलाप गर्नु र एक-अर्काको परिवार जस्तो भएर बस्नु होस्टलको राम्रो पक्ष हो । तर होस्टलमा एक-अर्कासँग कहिलेकाहीँ हात हालाहालको स्थिति पनि हुन्छ । कोही-कोही आफूलाई सबैभन्दा ठूला र बलियो ठान्ने गर्छन् । यस्ता युवतीहरुसँग टाढा रहनु बुद्धिमानी हुन्छ ।

होस्टलको साथीसँग जतिसुकै आत्मीय सम्बन्ध भए तापनि कहिल्यै आफ्नो हरेक कुरा शेयर गर्नु हुँदैन । उनीहरुसँग एक किसिमको सीमा निर्धारण गरेर बस्नु पर्छ । त्यस्तै कहिलेकाहीँ युवतीहरुबाट त्यस्तो गल्ती हुन पुग्छ, जसले उनको परिवार र आमाबुबाको शिर लाजले निहुराउनु पर्छ । त्यसैले आफूलाई सम्हालेर होस्टलमा बस्नु पर्छ । कहिले पनि गलत साथीको लहै-लहैमा लाग्नु हुँदैन । के सही हो र के गलत हो भन्ने कुरा बुझ्नु पर्छ । होस्टलमा रहने सबैलाई आफ्नो  परिवार जस्तै सम्झेर माया र सहयोगको व्यवहारले तपाईंको होस्टल बसाइँलाई रमाइलो वातावरण बनाउन सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment