Comments Add Comment

फेसबुकमा साथी बन्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा फेसबुकले एकातिर मित्रता, सम्बन्धको नयाँ संसार प्रदान गरेको छ भने अर्कोतिर यही फेसबुकको माध्यमबाट ठगी, लुट र यौन शोषण पनि हुँदै आएको छ । फेसबुकको माध्यमबाट कति निर्दोष महिलाहरुको अस्मिता लुटिएको छ ।

यसप्रकारका घटनाहरु आज दिनहुँनसो सुन्न र देख्न परेको छ । फेसबुकको माध्यमबाट प्रेम हुने र पछि धोका पाउने कुरा त सामान्य भइसकेको छ । फेसबुकको माध्यमबाट चोरी, लुटपाट, अपहरण, हत्याकोे खबर पनि बारम्बार आइरहेका छन् । त्यसैले फेसबुकको प्रयोग अति नै सावधानीपूर्वक गर्नु आवश्यक हुन्छ । यदि फेसबुकको जादुमयी जालमा फस्नु भयो भने तपाईं ठगिने धेरै सम्भावना हुन्छ ।

फेसबुकको संसार हामी वरपरको मानिसबाट नै बनेको हुन्छ । पहिला पनि यस्ता घटनाहरु नभएका त होइनन् तर यस्ता घटनाको लागि फेसबुक झन् सजिलो माध्यम बनेको छ ।

महिलाहरु बन्दैछन् शिकार

फेसबुकमा पुरुषको तुलनामा महिलाहरु धेरै पीडित हुने गरेका छन् । अरुलाई छिट्टै विश्वास गर्ने स्वभावका महिलाहरु सजिलै यस्ता जालझेलमा पर्छन् । फेसबुकमा साथी बन्दा धेरै कुराहरु विचार गर्नु पर्छ । यदि तपाईंले दायाँबायाँ नसोची, आँखा बन्द गरेर साथी बन्ने प्रस्ताव स्वीकार गर्नुभयो भने कुनै न कुनै तरिकाले तपाईं मूर्ख बन्नु हुन्छ । जसका कारण यौन शोषणको शिकार हुनुको साथै आर्थिक रुपले ठगिन पनि सक्नु हुन्छ ।

अञ्जान व्यक्तिले तपाईंको बारेमा सबै कुरा पत्ता लगाएर साथी बन्ने प्रस्ताव पठाएको हुनसक्छ । उसले आफ्नो स्वार्थ हुने समयसम्म तपाईंसँगको मित्रतालाई यथावत राख्छ । जुन दिन तपाईंसँगको स्वार्थ पूरा हुन्छ, उसले तपाईंलाई फ्रेन्ड लिस्टबाट हटाइदिन सक्छ । यसबीचमा तपाईंले आफ्ना धेरै कुरा गुमाइसक्नु भएको हुन्छ ।

यस्ता घटनाहरुमा कोही महिला सजिलै फस्ने गर्छन् । अञ्जान व्यक्तिलाई साथी बनाउँदा उनीहरुले शुरु-शुरुमा त मिठा-मिठा कुरा गर्छन् । केही समयको कुराकानीपछि फोन नम्बर आदान-प्रदान हुन थाल्छ र भेटघाट गर्ने, उपहार आदान-प्रदान गर्ने पनि हुन थाल्छ । समय बित्दै जाँदा शारीरिक सम्बन्ध पनि रहन थाल्छ । यसरी फेसबुकबाट गाँसिएको मित्रता यो हदसम्म आइपुग्छ र विभिन्न अप्रिय घटनाहरु हुन थाल्छ ।

प्रहरीले गर्ने आलटाल

फेसबुकको मित्रतामा ठगिने र यौन शोषणको शिकार हुने व्यक्तिहरुको रिपोर्ट प्रहरीले सहजै दर्ता गर्दैनन् । प्रहरीले त्यस्ता घटनाहरु जटिल हुने भएकाले पनि उजुरी लेख्न गाह्रो भएको हो । प्रहरीहरुसँग पनि त्यस्ता घटनाहरुको बारेमा पत्ता लगाउने धेरै साधनहरु छैनन् ।

यद्यपि कुनै-कुनै घटनाहरुमा प्रहरीले आरोपीलाई पक्राउ गरेर पीडितलाई न्याय दिलाएका छन् । फेसबुक क्राइम नै अलि कठिन विषय भएकाले प्रहरीलाई पनि यो सम्बन्धमा जाँचबुझ गर्न गाह्रो हुन्छ र समय पनि धेरै लाग्न सक्छ ।

सामाजिक सञ्जाल जागरुकता प्रसारित गर्ने, आफ्नो जीवनलाई सुन्दर बनाउने एउटा राम्रो मञ्च हो भन्ने कुरामा दुई मत छैन । तर सिक्काको अर्को पाटोको रुपमा फेसबुकको माध्यमबाट अपराधहरु बढ्न थालेको कुरा पनि बिर्सनु हुँदैन । वास्तवमा फेसबुक अथवा कुनै पनि माध्यम तपाईंबाट सामान्य समझदारीको अपेक्षा राख्छ र हामी स्वयं सतर्क भएनौं भने नोक्सान त हाम्रो नै हुन्छ । यी कुराहरुलाई ध्यान दिएर यदि हामी फेसबुकको जादुमयी संसारमा प्रवेश गर्‍यौं भने हाम्रो कसैले पनि केही बिगार्न सक्दैन ।

फेसबुकमा साथी बन्दा हामीले आफ्नो सीमा कहिल्यै भुल्नु हुँदैन । यसको प्रयोगमा तपाईं मानसिक रुपले पनि बलियो हुनु आवश्यक हुन्छ । अन्य माध्यमहरु जस्तै फेसबुकको प्रयोग धेरै कुराले फाइदाजनक भए तापनि कुनै-कुनै कुराले हानिकारक पनि छ । त्यसैले यसको प्रयोग सतर्कताका साथ गर्दा यसबाट क्षति बेहोर्नु पर्दैन । हरेक कुराको केही राम्रा र केही नराम्रा पाटाहरु हुन्छन् । कस्तो पाटो औंल्याउने त्यो हामीमा भर पर्छ । त्यसैले फेसबुकको प्रयोग पनि सावधानीका साथ गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment