+
+

पूर्वाञ्चल विश्वविद्यालयमा ‘बनाना रिपब्लिक’ को अभ्यास !

सत्तापक्षकै विद्यार्थीले ठोके विश्वविद्यालय प्रशासनमा ताल्चा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १०:२४

३१ भदौ, बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालय राजनीतिक दाउपेचको हास्यास्पद खेलमैदान बन्न पुगेको छ । विद्यार्थी संगठनहरुले लामो समयदेखि अनेक मागहरु राखेर केन्द्रीय कार्यालयमा लगाएको ताला अझै खुलेको छैन ।

बिराटनगरको पुष्पलाल चौकस्थित विश्व विद्यालयको केन्द्रीय कार्यालयमा कम्युनिष्ट र कांग्रेस दुवै दलका भातृ संगठनले ताला ठोकेका छन् । दुई महिनादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सत्तापक्ष र प्रतिपक्षका तालामाथि ताला खप्टिएका छन् ।

पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालय बिराटनगरमा रहेको छ । यो विश्वविद्यालय र यसअन्तर्गतका आंगिक क्याम्पसहरुमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् ।

देशलाई आवश्यक पर्ने वौद्धिक जनशक्ति उत्पादन हुनुपर्ने विश्वविद्यालयमा ‘बनाना रिपब्लिक’ को अभ्यास भइरहेको छ । प्रतिपक्षका विद्यार्थी संगठनले त ताला लगाउने नै भए, सत्तापक्षकै कार्यकर्ताबाट समेत ताला झुण्ड्याइएको उदेकलाग्दो अवस्था छ ।

सत्तापक्ष र प्रतिपक्षका विद्यार्थी संगठनहरुले उपकुलपति, रजिष्ट्रार र लेखा प्रमुखको कार्यकक्षमा ताला लगाएका कारण कार्यकक्ष बाहिरै बसेर काम गर्नुपर्ने अवस्था रहेको रजिष्टार प्रमिला थापाले अनलाइनखबरलाई बताइन् ।

‘एक महिनादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हाजिर हुने अवस्था मात्र छ,’ रजिष्ट्रार थापाले भनिन्, ‘लामो समयदेखि सबै पदाधिकारीको कार्यकक्षमा ताला लागेको छ ।’ हाजिर मात्र गरेर बाहिरै बस्नुपर्ने अवस्था छ ।’

विद्यार्थी संगठनले विश्वविद्यालयमा ‘सुधार’ को माग राखेर गत साउन २३ गते तालाबन्दी गरेका हुन् । यसबाहेक कर्मचारी बढुवामा धाँधली भएकोसमेत विद्यार्थीहरुको आरोप छ ।

यसैवीच, भदौ ७ गते नियुक्ति लिएर आएका उपकुलपति बिजुकुमार थपलियालाई काम गर्न नदिने भन्दै उनको कार्यकक्षसहित, रजिष्ट्रार र लेखा शाखामा नेविसंघले अर्को ताला थपेको कर्मचारीहरु बताउँछन् ।

अनेरास्ववियु लगायत ५ विद्यार्थी संगठनले विश्व विद्यालयका तत्कालीन उपकुलपति घनश्याम लाल दासको कार्यकक्षमा ताला लगाएका थिए । तर, उनको कार्यकाल सकिएर नयाँ उपकुलपति आइसकेका छन् । तैपनि सत्तापक्षीय विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाइमा लागेको ताला खुलेको छैन ।

अनेरास्ववियु प्रदेश नं १ का सहइन्चार्ज भास्कर खनालले आफूहरुले राखेको माग सम्बोधन भए पनि ताला खोल्ने विषयमा भने नेविसंघले पनि ताला लगाएकाले अहिलेसम्म रोकिएको बताए ।

‘ताला खोल्नेमा कुनै समस्या छैन, नेकपा समर्थित विद्यार्थी नेता खनालले भने, ‘हाम्रो तालामाथि नेविसंघको ताला छ, त्यसले गर्दा हामीलाई ताला खोल्न समस्या परेको हो ।’

थरीथरीका माग राखेर ताला झुण्डिएका कारण पठन पाठनसँगै प्रशासनिक कामसमेत प्रभावित भएको कर्मचारीको गुनासो छ । सबै कार्यालयमा तालाबन्दी गरिएकाले बाहिरबाटै काम गर्नुपर्ने अवस्था रहेको विश्व विद्यालयका सूचना अधिकारी फडिन्द्र गौतमले अनलाइनखबरलाई बताए ।

तालाबन्दीका कारण विश्व विद्यालयको सभा आयोजनाको तयारीमा असर परेको गौतम बताउँछन् ।

पूर्वाञ्चल विश्वविद्यालयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधेको प्रश्नको जवाफ दिनेसम्मको कामसमेत तालाबन्दीले गर्दा रोकिएको जानकारी दिँदै गौतमले भने, ‘अहिले विश्वविद्यालय अस्तव्यस्त बनेको छ ।’

मुलुक विकासका लागि आवश्यक पर्ने हरेक क्षेत्रका विज्ञ उत्पादन गर्ने थलोका रुपमा चिनिने विश्वविद्यालयमा भइरहेका पछिल्ला गतिविधिले यसलाई राजनीति गर्ने थलोमा परिणत गराएको प्राध्यापक संघका पूर्वअध्यक्ष एवं पूर्वाञ्चल विश्वविद्यालयका उपप्रध्यापक दिनेशराज सुबेदी गुनासो पोखे ।

सुबेदी भन्छन्, ‘विश्वविद्यालय राजनीतिक हस्तक्षेपबाट बाहिर हुनुपर्छ । यो शैक्षिक गतिविधि हुने संस्था हो, यसको नेतृत्व विशुद्ध प्राज्ञिक व्यक्तिहरुका हातमा हुनुपर्छ । अहिले राजनीतिक भागबण्डाका कारण विश्वविद्यालय राजनीतिको क्रीडास्थल बनेको छ, यसको अन्त्य जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?