Comments Add Comment

चीन र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त छलफल- पार्टी अनुशासनदेखि बीआरआईसम्म

५ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच काठमाडौंमा समाज रुपान्तरण, कम्युनिस्ट अनुशासन र विकास तथा समृृद्धिका एजेण्डामा दुई दिन छलफल हुने भएको छ ।

दुवै देशका कम्युनिस्ट पार्टीहरु आयोजक बनेर काठमाडौंमा गर्न लागिएको कार्यक्रमको नाम ‘नेपाल-चाइना फ्रेण्डसीप सिम्फोजियम’ राखिएको छ । कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ तावको नेतृत्वमा उच्चस्तरीय टोली सोमबार काठमाडौं आइपुग्नेछ ।

नेपाल आउन लागेका सोङ ताव चीनका वरिष्ठ कुटनीतिज्ञ पनि हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको बिभिन्न जिम्मेवारीमा रहेका ५० जनाको टोली नेता बनेर आउन लागेका तावले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डसँगै सोमबार साँझ दुवै देशका छानिएका कम्युनिस्ट नेता-कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।

सिम्फोजियमको सोमबार साँझ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सो उदघाटन सत्रमा चिनियाँ नेता ताव ‘कि नोट स्पिकर’ (प्रमुख वक्ता) छन् ।

कतिपयले सी जिनपिङ विचारधाराबारे चिनियाँ नेताले नेपालका कम्युनिस्टलाई प्रशिक्षण दिने भनेर चर्चा गरे पनि त्यस्तो खाले कार्यक्रम नभएको नेकपा नेताहरुले बताएका छन्

दुईदिने कार्यक्रममा चिनियाँ कम्युनिस्ट नेता तथा विज्ञहरुले अलग-अलग चारवटा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । शुरुकै दिन ‘कम्प्लिटिङ द बिल्डिङ अफ कम्फर्टेबल सोसाइटी’ विषयमा कार्यपत्र प्रस्तुत हुने र त्यसमाथि छलफल हुने कार्यक्रम छ ।

दोस्रो दिन कम्युनिस्ट पार्टीमा कसरी अनुशासन लागु गर्ने भन्ने विषयमा छलफल गरिने नेकपा नेताहरुले बताएका छन् । ‘कम्पि्रहेन्सिभ इन्फोर्समेन्ट अफ पार्टी डिसिप्लिन’ विषयमा पनि चिनियाँ नेताहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सोही दिन समाजको आमूल रुपान्तरण र चिनियाँ सरकारले अघि सारेको बेल्ड एण्ड रोड इनिसियटिभ (बीआरआई)को विषयमा छलफल हुनेछ । कार्यक्रममा दुवै कम्युनिस्ट पार्टीका तीन-तीन जनाले नेताले मुख्य अवधारणा पेश गर्नेछन् ।

नेकपाको स्कूल विभागले संयोजन गरेको दुईदिने कार्यक्रमका सहभागी पनि विभागले पार्टीसँग समन्वय गरेर छनौट गरेको छ । नेपालबाट सहभागी हुनेको नाम अझै सबै टुंगो लागि नसकेको स्कूल बिभागका उपप्रमुख बेदुराम भुसालले बताए ।

कतिपयले सी जिनपिङ विचारधाराबारे चिनियाँ नेताले नेपालका कम्युनिस्टलाई प्रशिक्षण दिने भनेर चर्चा गरे पनि त्यस्तो खाले कार्यक्रम नभएको नेकपा नेताहरुले बताएका छन् । दुई कम्युनिस्ट पार्टीबीच बिगतमा पनि यस्ता अन्तरक्रियाहरु हुने गरेको नेकपा विदेश विभागका उपप्रमुख रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment