+
+

सौराहा लगियो कोशी टप्पुका हात्ती, माउते फुर्सदिला

आरक्ष भन्छ– नयाँ हात्तीसार बनाएर फिर्ता ल्याउँछौं

रोयल आचार्य रोयल आचार्य
२०७६ असोज २७ गते १६:०१

२७ असोज, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्षको दरबन्दी कटाएर ५ माउ हात्ती चितवन राष्ट्रिय निकुञ्ज, सौराहा लगिएको छ ।

कोशी टप्पु आरक्षमा १० माउ हात्तीको दरबन्दी रहेकोमा त्यसबाट ५ वटा हात्ती सौरहा लगिएको आरक्षका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए ।

आरक्षका सहायक संरक्षण अधिकृत तिवारीका अनुसार कोशी टप्पु आरक्षमा हात्तीसार (हात्ती बस्ने घर) सानो भएपछि ५ हात्ती केही समयअघि नै सौराहा लगिएको हो । हाल कोशी टप्पुमा ५ माउ हात्ती र तिनका २ छावा छन् ।

कोशी टप्पुमा रहेको १० दरबन्दीबाट ५ कटाएर लगिए पनि त्यसलाई पुनः ल्याउन सकिने तिवारीले बताए । ‘हामीकहाँ ठाउँ अभाव भयो, सौराहामा आवश्यक पनि थियो’, उनले भने, ‘तर सधैंका लागि भनेर लगिएको होइन, हामीले नयाँ हात्तीसार बनाए आजको भोलि नै ल्याउन पनि सकिन्छ ।’

अहिले माउ र छावा गरी ७ वटा मात्रै छन् । यी हात्तीहरूका लागि कोशी टप्पुमा ३४ माउतेको दरबन्दी छ । हात्तीको दरबन्दी कटाएर सौराहा लगिएपछि स्यारसुसार गर्ने ३४ माउतेमध्ये अधिकांश फुर्सदिला फुर्सदिला बनेका छन् ।

आरक्षका सूचना अधिकारीसमेत रहेका तिवारीका अनुसार, अहिले उदयपुरको वेलका नगरपालिका क्षेत्रमा हात्तीसार बनाउने योजना भइरहेको छ । बेलका–१, भागलपुरमा हात्तीसार बनाएर सौराहा पुर्याइएको दरबन्दीसमेत त्यहाँ राख्ने तयारी भइरहेको उनले बताए ।

उनका अनुसार, यसका लागि भागलपुरमा सम्भाव्यता अध्ययनसमेत भइसकेको छ । ‘हामीले भागलपुर क्षेत्रमा हात्तीसार बनाउने गरी अध्ययन गर्‍यौं, त्यहाँ हात्तीका लागि चाहिने घाँस पनि पर्याप्त छ, बाढी आए पनि सुरक्षित हुन्छन्’, तिवारीले भने, ‘सम्भाव्यता अध्ययन गरेर फाइल विभागमा पठाइसकेका छौं, त्यहाँ हात्तीसार बने आफ्नो हात्ती ल्याउन समस्या छैन ।’

उनले पर्यटनका लागि कोशी टप्पु क्षेत्रमा प्रचुर सम्भावना रहेको समेत सुनाए । भागलपुरमा हात्तीसार राखे बाह्य तथा आन्तरिक पर्यटकहरुलाई हात्ती सफारी गराएर पनि राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?