
१ कात्तिक, काठमाडौं । संसद सचिवालयको कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका सभामुख कृष्णबहादुर महराको बयान हुन सकेको छैन ।
रक्तचाप र छाती दुख्ने समस्या देखिएपछि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतबाट अस्पताल भर्ना गरिएका उनले बयान दिन मानेका छैनन् ।
प्रहरीले अभियुक्तको बयान सरकारी वकिलको रोहबरमा लिनुपर्छ ।
अहिले नर्भिक हस्पिटलको सीसीयू वार्डमा रहेका उनलाई भेट्न गएका एक प्रहरी अधिकृत भन्छन्, ‘स्वास्थ्यका कारणले उहाँले अहिले बयान दिनसक्ने आशय व्यक्त गर्नु भएको छ ।’ यद्यपि, काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटी भने महराको बयान हुने बताउँछन् ।
उनले अनलाइनखबरसँग भने, ‘स्वास्थ्यको कारणले हो । समय छ, उहाँको बयान हुन्छ ।’
बालुवाटारस्थित सरकारी निवासबाट १९ असोजमा पक्राउ परेका महराले प्रहरीसँग अनौपचारिक संवादमा भने आरोप अस्वीकार गर्दै आएको प्रहरी स्रोत बताउँछन् ।
एक अधिकृतले भने, ‘महिलाको घरमा गए पनि आरोप लगाए जस्तो केही भएको थिएन भन्ने उहाँको कुरा छ ।’
पीडित भनिएकी महिलाको बयान पनि पटकपटक फेरिइरहेको छ । प्रारम्भमा १२ असोजको साँझ आफूमाथि बलात्कार प्रयास भएको भन्दै प्रहरीमा खबर गरेकी उनले स्वास्थ्य परीक्षण र उजुरी दिन मानिनन् ।
दुई दिनपछि महराले सभामुख पदबाट राजीनामा दिए । महिलाले भने बाहिर आए जस्तो घटना नभएको भन्दै सार्वजनिक रुपमै बताउन थालिन् । उनले डिप्रेसनको शिकार भएको र के बोलेँ पनि थाहा नभएको जनाउँदै प्रहरीमा पनि निवेदन दिएकी थिइन् ।
तर, श्रीमानसँग डिभोर्स भएको सार्वजनिक भएको भोलिपल्टै उनले प्रहरीमा किटानी जोहरी दिइन् । र, अहिले महरा प्रहरी नियन्त्रणमा छन् ।
प्रतिक्रिया 4