
२३ मंसिर, काठमाडौं । राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य मोहना अन्सारीले निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्धको सिफारिस कार्यान्वन अगाडि बढाएको सरकारले अन्य सिफारिस किन कार्यान्वयन नगरेको भन्दै प्रश्न गरेकी छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘मानव अधिकार आयोगले गरेको आलमविरुद्धको सिफारिस अघि बढ्ने अरुको किन नबढ्ने ?’ सरकारले आफ्नो अनुकुलतामा मात्रै आयोगका सिफारिसलाई कार्यान्वयन गरेको भन्दै उनले रोष प्रकट गरेकी हुन् ।
रौटहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलम १२ वर्षअघि रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई जिउँदै चिम्नीमा जलाएको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका छन् । राजपुर घटनाको सन्दर्भमा आयोगले प्रतिवेदन तयार पारी आलमलाई कारबाही सिफारिस गरेको थियो ।
आलमको जस्तै आयोगले गरेका अन्य सिफारिसहरु पनि कार्यान्वयन हुनुपर्ने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार आयोगका सिफारिसलाई मुद्धासरह लिइन्छ, हाम्रोमा मान्यता नै छैन । आयोगले गरेका सिफारिस र सरकारलाई दिएका प्रतिवेदनहरु कहाँ थन्कियो ?’ अन्सारीले भनिन् ।
‘आयोगको प्रतिवेदनमाथि संसदमा छलफल होस्’
अन्सारीले आयोगको बार्षिक प्रतिवेदनमाथि संसदमा छलफलको माग गरेकी छन् ।
आइतबार मात्रै आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको थियो । उक्त प्रतिवेदनमाथि संसदमा छलफलको वातावरण बनाउन आयोगकी सदस्य अन्सारीले सरकार र सांसदहरुलाई आग्रह गरेकी हुन् ।
‘आयोगको प्रतिवेदनलाई एक पटक संसदमा छलफलमा लैजाऔं । विशेष प्रस्तावको रुपमा दर्ता गरौं’ अन्सारीले भनिन् ‘आयोगले गरेका सिफारिसहरु के कस्ता रहेछन् जनताले थाहा पाउनुपर्छ । त्यसका लागि संसदमार्फत वातावरण बनाइदिन सरकार र माननीयज्यूहरुलाई आग्रह गर्न चाहन्छु ।’
प्रतिक्रिया 4