Comments Add Comment

पटेर्वासुगौली गाउँपालिका अध्यक्ष र कर्मचारीको टोली विदेश भ्रमणमा

८ पुस, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका प्रमुख र पाँचवटै वडाका अध्यक्षलगायत १५ जनाको टोली विदेश भ्रमणमा छन् । गत पुस २ गते टोली १० दिने विदेश भ्रमणमा निस्किएको हो ।

उनीहरुले सोमबारसम्ममा थाइल्याण्ड र कम्बोडियाको भ्रमण गरेका छन् । जम्बो टोली विदेश भ्रमणमा जाँदा गाउँपालिकाको कामकाज प्रभावित छ ।

भ्रमण टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, लेखापाल, राजस्व तथा योजना फाँट, इन्जिनियर, सामाजिक विकास शाखाका कर्मचारी र कार्यापालिकामा मनोनित दुईजना सदस्यसमेत सहभागी छन् । भ्रमण टोलीमा सबै पुरुष मात्रै छन् । गाउँपालिका स्रोतका अनुसार गत पुस २ गते भ्रमणमा निस्केको टोली ११ गते मात्रै फर्किने छ ।

गाउँपालिका प्रमुख हरिनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र यादव, वडा १ देखि ५ का अध्यक्ष क्रमशः फरमान मियाँ, विजयश्री गैरे, माधव राउत थारु, वडा नम्बर चारका अध्यक्ष राजेश्वर महतो थारु, वडा नम्बर पाँचका अध्यक्ष मोतीलाल साहसहितको टोलीले थाइल्याण्ड, कम्बोडिया र सिंगापुरको समेत भ्रमण गर्ने गाउँपालिका स्रोतले जनाएको छ ।

कार्यपालिका सदस्यद्वय विपिन मुखिया विन, दीपक रसैली, लेखापाल विरेन्द्र साह तेली, राजस्व तथा योजना फाँटका विरेन्द्र चौधरी, शिक्षा शाखाका शम्भु साह, सामाजिक विकास शाखाका राजकुमार महतो तथा इन्जिनियरद्वय निर्मल सिंह र प्रदीप चौरसियासमेत टोलीमा सहभागी छन् ।

स्रोतका अनुसार गाउँपालिकाले भ्रमणका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो । मन्त्रालयले स्वीकृति नदिएपछि उनीहरुको योजना तुहिएको थियो । त्यसपछि उनीहरु व्यक्तिगत खर्चमा विदेश भ्रमणमा निस्किएको बताइएको छ ।

सर्वोच्चको आदेशपछि जनप्रतिनिधिले तलब सुविधासमेत नपाएको अवस्था छ । तर कतिपयले पालिकाअन्तर्गत पर्ने गादी खोलाको ढुंगा, गिट्टी, बालुवा ठेक्का लगाएपछि आएको कमिसनले उनीहरु विदेश गएको भनी टिप्पणी गरिरहेका छन् ।

फेसबुक म्यासेन्जरमा कुरा गर्दै वडा अध्यक्ष गैरेले व्यक्तिगत खर्चमा थाइल्याण्ड भ्रमणमा रहेको बताए । ‘थाइल्याण्ड आएको छु, ५ दिनको टुर हो, प्रतिव्यक्ति ७५ हजार जति खर्च लाग्ने रहेछ,’ उनले भने  ।

गाउँपालिका उप-प्रमुख ममता महतोले पुस १ गते अध्यक्षले फोन गरेर १० दिनका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएकोे बताइन् । ‘११ दिनका लागि बाहिर जाँदैछु, निमित्त पालिका अध्यक्षको जिम्मेवारी सुम्पिएको छु । पत्र ईमेलमा पठाएको छु । भनेर फोन गर्नुभएको थियो,’ उनले भनिन्, ‘त्यसपछि भ्रमण जानुभएको थाहा भयो । तर कुन-कुन देश, के उद्देश्यले हो भन्ने थाहा भएन ।’

अध्यक्ष नेतृत्वको भ्रमण टोलीमा कर्मचारी समेत गएकाले गाउँपालिकाको कामकाज प्रभावित हुनु स्वभाविक भएको उनको भनाइ छ । ‘कर्मचारी छैनन्, पालिकामा के काम हुन्छ र ?’ उनले भनिन् ।

वडा अध्यक्ष गैरेको स्पष्टीकरण

मंगलबार बिहान वडा अध्यक्ष गैरेले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन् । उनले गाउँपालिकाको कामकाज प्रभावित नहुने गरी विदेश यात्रामा निस्किएको दाबी गरेका छन् ।

‘पालिकाको सम्पूर्ण कार्यको जिम्मेवारी कार्यवाहक अध्यक्षको रुपमा उपाध्यक्षलाई, प्रमुख प्रशासकीय अधिकृतको निमित्त तोकि, वडामा हुने गरेका सम्पूर्ण कार्यमा रोकावट नहुने गरी ५ वटै कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्यहरुलाई दिएका छौं ।’

‘हाल भैरहेको भौतिक संरचना निर्माणको जिम्मेवारी प्राविधिक फाँटका कर्मचारीहरुलाई दिई तदारुकताका साथ कार्यहरु भैरहेको छ । साथै हाल कामको चापसमेत कम भएको मौका पारी उचित समयमा आफ्नो निजी खर्चमा भ्रमणमा निस्किएका हौं ।’

उनले स्टाटसमा कर्मचारीको प्रशंसा गर्दै अनावश्यक टिकाटिप्पणी नगरिदिन भनेका छन् । ‘कुनैपनि दिन बिदा नभनी आहोरात्र खट्ने कर्मचारी वर्गसमेत खाइपाइ हुन आउने बिदा लिइ आएकोमा अनावश्यक टिकाटिप्पणी नगरिदिन हुन अनुरोध छ,’ उनले लेखेका छन् ।

गादीखोलाको टेन्डर अनियमित तरिकाले भएको कसैले प्रमाणित गरेमा रोक्न र कारबाहीसमेत भोग्न तयार रहेको उनको भनाइ छ ।

वडा अध्यक्षहरुको थाइल्याण्ड मोह

वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडा छन् । ५ जना वडा अध्यक्षहरु समेत सुटुक्क थाइल्याण्ड भ्रमणमा निस्किएका छन्  । निजी खर्चमा उनीहरु भ्रमण गएको बताइएको छ ।

भ्रमण टोलीमा वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, वडा नं. ११ का अध्यक्ष प्रधुम्न सेँढाईलगायत छन् । यो समाचार तयार पार्दासम्म उनीहरुले सामाजिक सञ्जालमा विदेश भ्रमणको फोटो अपलोड गरेको भने देखिएको छैन ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले ५ जना वडा अध्यक्ष निजी खर्चमा विदेश भ्रमणमा गएको जानकारी आफूले पाएको बताए । ‘व्यक्तिगत खर्चमा थाइल्याण्ड गएको सुनेको छु । त्यति ठूलो खर्च छैन, हिजोआज थाइल्याण्ड भ्रमण ४०-५० हजारमा हुन्छ,’ उनले भने, ‘जनप्रतिनिधि व्यक्तिगत खर्चमै विदेश गएपनि विभिन्न टिकाटिप्पणी हुने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment