
चलचित्र ‘साङ्लो’को पत्रकार सम्मेलनमा कार्यक्रम संचालक नरेश भट्टराइले नायक विराज भट्टलाई बाघ फर्किएको भन्दै सम्बोधन गरे । नेपाली चलचित्र क्षेत्रमा राम्रो कमाई हुँदा हुँदै विराज भोजपुरी चलचित्र क्षेत्रमा लागेका थिए । भोजपुरी चलचित्रबाट उनले राम्रो नाम र दाम कमाए ।
उनै, विराज केही बर्ष अगाडि मात्र निर्माता रोज राणाको चलचित्र ‘जय परशुराम’बाट चलचित्र क्षेत्रमा फर्किए । तर, यो चलचित्र बक्स अफिसमा चलेन । यो चलचित्र नचलेपछि विराज आफै चलचित्र निर्देशनमा होमिएका थिए । उनैै, विराजले आफ्नै लगानी, निर्देशन र अभिनयमा चलचित्र ‘साङ्लो’ तयार पारेका छन् । जुन, चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।
विराजलाई ‘बाघ फर्किएको’ भन्दै कार्यक्रम संचालकले सम्बोधन गरेपछि पत्रकारले पनि यही प्रश्न गरे । के बाघ फर्किएकै हो त ? यो प्रश्नमा विराजले भने–‘बाघ कहाँ गएको थियो र फर्किनका लागि ? बाघ कतै पनि गएको छैन । बाघले जंगल मात्र परिवर्तन गरेको हो ।’
उनले अगाडि भने–‘ठूलो जंगलमा पनि गइयो । त्यहाँ पनि खुबै लखेटियो । तर, बाघ भन्दा पनि एउटा राम्रो चलचित्र बनाएको छु । आशा छ, सबैले साथ दिनुहुनेछ ।’ विराजले भोजपुरी चलचित्रमा पैसा कमाएर नेपाली चलचित्रमा लगानी गरेको बताए ।
प्रतिक्रिया 4