+
+

फेरि वर्षा र हिमपातको सम्भावना   

रासस रासस
२०७६ पुष २२ गते १५:४३

२२ पुस,  काठमाडौं । वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मगलबार मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले बुधबार र बिहीबार देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

“मंगलबार काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको छ”, मौसमविद् कँडेलले भनिन् । पश्चिमी वायुका प्रभाव आगामी शनिबारसम्म कायम रहने बताइएको छ ।

राति देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै मध्य र पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि बुधबार देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकतम तापक्रम १६ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । मंगलबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?