
२३ पुस, काठमाडौं । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को केन्द्रीय कार्य समिति निर्वाचनमा तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ नेकपाको एउटा र विपक्षी नेपाली कांग्रेस समर्थित दुई अलग प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
आगामी माघ पहिलो साता हुने निर्वाचनका लागि नेकपा समर्थित उम्मेदवारहरुको प्यानल बुधवार घोषणा भएको छ । भीमप्रसाद पन्त नेतृत्वको प्यानल काठमाडौंमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो ।
पन्तले आफ्नो समूह कुनै निश्चित राजनीतिक पार्टीको नभई व्यवसायीहरुको साझा र समावेशी टिम रहेको दावी गरे । उनले व्यवसायिक हक हित र भ्रमण वर्ष सफल बनाउने मुख्य एजेण्डा लिएको बताए ।
पन्तको समूहबाट वरिष्ठ उपाध्यक्षमा बिनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता र महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल उम्मेदवार रहेका छन् । त्यस्तै सचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारी उम्मेदवार बनेको जानकारी दिइयो ।
कार्यकारी सदस्यको उम्मेदवारमा सुवर्ण श्रेष्ठ,हरिकुमार श्रेष्ठ, विष्णु कार्की, लक्ष्मी कार्की अधिकारी, चुडावहादुर जिम्बा, गीता ढकाल, डेण्डी शेर्पा र रामशोभित नायक उम्मेदवार बनेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नाटाको निर्वाचनमा नेपाली कांग्रेस पक्षबाट अच्युत गुरागाईं अध्यक्षको उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसकै मिखा धाख्वाको नेतृत्वमा तेस्रो टिम समेत मैदानमा उत्रिएको छ ।
प्रतिक्रिया 4