+
+

नारायणकाजी श्रेष्ठ : प्रतिनिधिसभामा चोट, राष्ट्रियसभामा भोट

अमृत सुवेदी अमृत सुवेदी
२०७६ माघ ९ गते २०:४७

९ माघ, पोखरा । २०७४ सालमा प्रतिनिनिधिसभा जान नारायणकाजी श्रेष्ठले दुई वर्षपछि राष्ट्रियसभाको यात्रा तय गरेका छन् । गोरखा २ मा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पराजित भएपछि श्रेष्ठको सांसद बन्ने प्रयास असफल भएको थियो ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा उनी गण्डकी प्रदेशबाट बिजयी भएका छन् ।

गोलाप्रथामार्फत २ वर्ष कार्यकाल पाएका राष्ट्रियसभा सदस्यहरुको अवधि सकिन लागेपछि निर्वाचन भएको थियो । गण्डकी प्रदेशमा अन्यबाट नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे र महिला सदस्य विन्दादेवी रानाको कार्यकाल सकिँदै थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले अन्यतर्फ उम्मेदवनर बनायो । गण्डकी प्रदेशमा नेकपाको एकल बहुमत थियो । प्रदेशका स्थानीय तहहरुमा पनि नेकपाकै बहुमत भएकाले श्रेष्ठको जित सुनिश्चित थियो ।

बिहीबारको निर्वाचन औपचारिकता पुरा गर्‍यो । १ हजार २ सय १८ मतभारले विजयी भएका छन् । श्रेष्ठ ३ हजार ४ सय ६२ मतभारसहित विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत ल्याए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १ ९८ मतभार पाए ।

८५ वटा स्थानीय तह रहेको गण्डकी प्रदेशमा २ जना अनुपस्थित रहे । ल्हो घेकर गाउँपालिका अध्यक्ष राजु विष्ट र सिरानचोक गाउँपालिका उपाध्यक्ष रिता देवकोटा देशबाहिर रहेका कारण मतदानमा सहभागी भएनन् । ६० सदस्यीय प्रदेश सभामा सबैले मत हाले । गण्डकी प्रदेश सभामा ४० जना नेकपा सदस्य छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र समाजवादी पार्टीका २ सदस्य छन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तह प्रमुख उपप्रमुखको १८ मतभार हुन्छ ।

मेयरमा हारेकी भगवती राष्ट्रियसभामा विजयी

नेकपाबाटे महिला सदस्यका रुपमा चुनाव जितेर राष्ट्रियसभाको यात्रा तय गरेकी भगवती न्यौपाने पनि स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार थिइन् । तनहुँको भानु नगरपालिकामा तत्कालीन एमालेबाट मेयर पदकी उम्मेदवार थिइन् ।

पार्टी केन्द्रीय सचिवालयबाट नाम सार्वजनिक हुँदा आफैं आश्चर्यमा परेकी न्यौपाने २ पटक समानुपातिक सूचीमा नाम रहेर पनि नपरेकी अभागी नेतृ हुन् । तनहुँमा प्रभावशाली नेतृको परिचय बनाएकी न्यौपाने विद्यार्थी आन्दोलनदेखि पार्टीको विभिन्न पद र मोर्चामा रहेर काम गरेकी छन् । तिनै न्यौपाने गण्डकी प्रदेशबाट महिला सदस्यमा राष्ट्रिय सभामा निर्वाचित हुन सफल भइन् ।

न्यौपानेले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३ हजार ३ सय ६६ र गौचनले २ हजार ३ सय ४० मतभार पाए । महिला सदस्यको मतदानमा ३ भोट बदर भएको छ । न्यौपानेले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै परिवर्तका पक्षमा लड्ने बताइन् ।

जे बनाउँछ, पार्टीले बनाउँछ : श्रेष्ठ

पूर्व उपप्रधानमन्त्री श्रेष्ठलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णयसँगै विभिन्न अड्कलबाजी हुँदै आएको छ । नारायणकाजीलाई महत्वपूर्ण मन्त्रालय दिने गरी उम्मेदवार बनाइएको नेकपाकै नेताहरुले बताउँदै आएका छन् । नारायणकाजीलाई मन्त्रीको रुपमा देख्न चाहेको उनकै निर्वाचन क्षेत्रकी पालुङटार नगरपालिका उपमेयर पम्फा बसेलले बताइन् । ‘अघिल्लो चुनावमै जित्नुपर्ने मान्छे हो, त्यस्तै भो,’ बसेलले भनिन्, ‘पार्टीको प्रवक्ता त हुनुहुन्छ नै । अब त महत्वपूर्ण मन्त्री नै बनेको हेर्न मन छ ।’

बसेलजस्तै धेरैको अनुमान छ, श्रेष्ठ मन्त्री बन्नसक्छन् । तर राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि श्रेष्ठले भने मन्त्री बन्ने आफ्नो व्यक्तिगत सोच नरहेको बताएका छन् ।

पार्टीले नै उम्मेदवार बनाएर जिताएको भन्दै उनले भोलिको जिम्मेवारी पनि पार्टीकै हातमा रहेको बताए । ‘राष्ट्रियसभा सदस्यको चुनाव अगाडि नै मन्त्री बन्नेबारे सोच्ने कुरा भएन’ जितपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले भने, ‘दोस्रो मैले व्यक्तिगत रुपमा मैले केही सोच्दा पनि सोचेको छैन ।’

बिहीबार नै नेकपाले पोखरामा विजयी र्‍याली निकालेको थियो, जसलाई सहिद चोकमा सम्बोधन गर्दै श्रेष्ठले पार्टी एकता र सरकारलाई सफल बनाउन आफ्नो विजयले मद्दत पु¥याउने बताए ।

तस्वीरः युनिश गुरुङ/अनलाइनखबर

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?