Comments Add Comment

‘मदन भण्डारी विश्वविद्यालयको नाम र उद्देश्य मिलेन’

Photo Credit : RSS
फाइल तस्‍वीर

२९ माघ, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको नाम र उद्देश्य नमिलेको भन्दै सांसदहरुले आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको उक्त विश्वविद्यालयसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनीहरुले विधेयकको नाम (रुप) र सार (उद्देश्य) नमिलेको बताए ।

‘विधेयकको नाममा विज्ञान र प्रविधि छ, तर कानुन, समाजशास्त्र, व्यवस्थापन, न्याय विषयमा समेत पढाइ हुने भनिएको छ । किन ?’ नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले भने ।

सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रश्न गरे, ‘यसको रुप र सार एउटै बनाउन सकिँदैन ?’

विधेयकमा विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजशास्त्र, व्यवस्थापन, कानुन र न्यायलगायतका विषयमा विश्वस्तरीय जनशक्ति उत्पादन गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न लागिएको उल्लेख छ ।

सांसदहरुले यस विश्वविद्यालयमा विज्ञान तथा प्रविधिसम्बन्धी विषयमात्र अध्यापन हुनुपर्नेमा जोड दिए ।

कांग्रेस सांसद गगन थापाले विज्ञान तथा प्रविधिभित्र कानुन र समाजशास्त्र जस्ता विषयसमेत पढाउन खोजिएको भए त्यसैअनुसार विधेयकमा भाषा मिलाउनुपर्ने बताए ।

मन्त्रीको जवाफ– फोकस विज्ञान र प्रविधिमै हो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विश्वविद्यालयमा विज्ञान र प्रविधि अध्यापनमै जोड दिन खोजिएको बताए । तर, उनले कानुन, समाजशास्त्र, व्यवस्थापन, न्याय जस्ता विषयलाई छोड्न नसकिने तर्क गरे ।

‘अन्तर्राष्ट्रिय अभ्यास हेरौं, विज्ञान र प्रविधि विश्वविद्यालयमा मानविकीलाई जोडिएको पाइन्छ’ उनले भने ।

यो विश्वविद्यालय अहिले रहेका भन्दा फरक हुने मन्त्री पोखरेलले बताए ।

सरकारले मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा विश्वविद्यालय बनाउने गरी प्रक्रिया अगाडि बढाइसकेको छ । विश्वविद्यालय निर्माणको लागि ७४० रोपनी जग्गा छुट्याइएको छ ।

बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद एकवाल मियाँले विश्वविद्यालयको नाममा जीवराज आश्रितलाई समेट्न माग गरे । भण्डारी र आश्रित एउटै दुर्घटनामा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment