
२ फागुन, काठमाडौं । चीनमा रहेका नेपालीलाई लिन जाने स्वास्थ्यकर्मी र पाइलटलाई आफ्नो गाउँमा राख्न लागेको भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिका लामाटोलका बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरिने नेपाली विद्यार्थी लिन जाने जहाजका चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई चाँगुनारायण नगरपालिका-६ लामाटोलको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रमा राख्ने तय भएको थियो । स्थानीयले त्यसको विरोधमा शुक्रबार गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो ।
चीनबाट उद्धार गरिने नेपाली विद्यार्थीलाई भक्तपुर खरिपाटीको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तय भइसकेको छ । उनीहरुलाई उद्दार गरी ल्याउने स्वास्थ्यकर्मी र विमान चालक दलका सदस्यलाई भने खानेपानी प्रशिक्षण केन्द्रमा राख्ने सरकारले तय गरेको थियो । त्यसको विरोधमा लामाटोलका स्थानीय वासिन्दाले प्रदर्शन गरेका हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले स्थानीय बासिन्दाले नगरकोट जाने सडक अवरुद्ध गरेकाले खुलाउन सामान्य बल प्रयोग गरेको बताए ।
शुक्रबार दिउँसो झडप भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहितको टोली घटनास्थलमा पुगेको थियो । पाण्डेले स्थानीय वासिन्दासँग सहमति भइसकेको र असन्तुष्टि नरहेको अनलाइनखबरलाई बताइन् ।
स्वास्थ्यकर्मी र विमान चालक दलका सदस्यलाई राख्ने सरकारले निर्णय गरेसँगै स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका थिए । सरकारले चीनबाट फर्किन चाहनेलाई शनिबार उद्धार गरी ल्याउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया 4