+
+
लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर प्रकरण :

प्रदेश ५ सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १३:४५

५ फागुन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर चलाएर भत्काएको विषयमा व्यवसायीहरु फेरि सर्वोच्च अलदालत पुगेका छन् ।

दुवै पक्षलाई सर्वोच्च अदालतले छलफलका लागि बोलाउने आदेश गरिसकेको अवस्थामा त्यसलाई बेवास्ता गर्दै डोजर चलाएको भन्दै सरकारी पक्षविरुद्ध व्यवसायीले अदालतको अपहेलना मुद्दा दर्ता गरेका हुन् ।

१७ जना व्यवसायीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनाललाई विपक्षी बनाइ मुद्दा दर्ता गरेका वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले जानकारी दिए ।

उक्त मुद्दामा वहसका लागि सर्वोच्चले सोमबार पेशीको मिति तोक्ने केसीले बताए । ‘प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलगायत सरकारी निकायविरुद्ध अदालतको अपहेलना मुद्दा आइतबार दर्ता भएको छ,’ व्यवसायीका पक्षबाट मुद्दा हेरिरहेका वरिष्ठ अधिवक्ता केसीले भने, ‘मुद्दामा बहसका लागि सोमबार पेशीको मिति तोकिन्छ होला ।’

पाँच वर्षका लागि सटर भाडामा लिएका व्यवसायीलाई प्रदेश सरकारले तीन महिनापछि सटर खाली गर्न भनेपछि व्यवसायीहरु अदालत पुगेका थिए ।

जिल्ला अदालतले व्यवसायीको माग बमोजिम अन्तरकालीन आदेश खारेज गरिदिएपछि उनीहरु सर्वोच्च पुगेका थिए । सर्वोच्चले फागुन १ गते दुवै पक्षलाई बोलाउने आदेश गरेको थियो । तर अस्पताल प्रशासनले माघ २३ गते बिहान ६ बजे नै डोजर चलाएर सटर भत्काएको थियो ।

मुद्दाको अन्तिम किनारा नलाग्दै सरकारले डोजर चलाएर ७० बढी सटरमा भएको ६० करोड बढी लगानीमा क्षति पुर्‍याएको भन्दै व्यवसायीहरु सरकारविरुद्ध क्षतिपूर्तिको मुद्दासमेत दर्ता गर्ने तयारीमा रहेको व्यवसायी यज्ञप्रसाद सापकोटाले बताए ।

प्रदेश सरकारले भने सटर भत्काएर त्यहाँ आकर्षक पर्खाल र बगैंचा बनाउने तथा अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा स्तरोन्नती गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?