१९ फागुन, काठमाडौं । सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो ।
सरकारले विदेश भ्रमणको योजना नबनाउन देशबासीलाई अपील गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उनकाअनुसार कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरेको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न पनि अपील गरेको छद् । उनकाअनुसार दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको छ भने अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको छ ।
मध्य पूर्वका देशहरुमा भ्रमण, अध्ययन र रोजगारीमा जान सरकारले रोक लगाएको त छैन । तर तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न अपील गरेको छ ।
आइतबार मात्र ३० जना नेपालीलाई बहराइनले इमिग्रेसनबाट प्रवेश नदिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मध्य पूर्वमा जान सरकारले रोक त लगाएको छैन । तर कामका लागि होस या अध्ययनका लागि नजान प्रबन्ध गर्न आग्रह गरेका छौं ।’
ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि मध्यपूर्वका मुलुकहरुमा जाने गरेका छन् । खाडी मुलुकसहित थाइल्याण्ड र चीनमा ठूलो संख्यामा घुमघामका लागि जाने गर्छन् । यसबाहेक व्यापार–व्यवसायका सिलसिलामा समेत जाने गर्छन् ।
पर्यटनविद् प्रचण्डमान श्रेष्ठ विदेशमा घुमघामका लागि मात्र नभई अध्ययन र कामको सिलसिलामा बढी पुगेका कारण उनीहरुमा व्यापक जनचेतना फैलाउने गरी अभियान लैजान सुझाव दिन्छन् । ‘नेपाल ‘इनबाउण्ड टुरिजम’लाई प्राथमिकता दिने देश हो, त्यसकारण अन्य मुलुकले नेपालबारे गरेको यात्रा चेतावनीको समिक्षा गर्दै सरकारले आफ्ना नागरिकलाई सचेत गराउनु राम्रो हो’ उनले भने ।
नेपालबारे विदेशीको एडभाइजरी के छ ?
अमेरिकी सरकारले जारी गर्ने ट्राभल एडभाइजरीलाई धेरै मुलुकले आधिकारिक मान्छन् । अमेरिकाले आफ्ना नागरिकका लागि चार लेवलको यात्रा चेतावनी राख्ने गर्छ । त्यसमध्ये नेपाल अहिले दोस्रो लेवलमा रहेको छ । यसको मतलव नेपालमा जोखिम छ, तर यात्रामा प्रतिबन्ध लगाउनु पर्ने अवस्था छैन ।
कोरोनाबारे उल्लेख गर्दै अमेरिकाले नेपालमा एक जनामा कोरोना पुष्टि भएपनि नेपाल स्वंमले कुनै पनि प्रवेश तथा प्रस्थान बिन्दुबाट यात्रामा प्रतिबन्ध नलगाएका कारण उच्च जोखिममा भने नरहेको यूएस डिपार्टमेन्ट अफ स्टेटले उल्लेख गरेको छ ।
बेलायत सरकारले नेपालबारे जारी गरेको ट्राभल एड्भाइजरीमा चीनको छिमेकी मुलुक भएका कारण कोरोना संक्रमणका सम्बन्धमा सचेत हुन आग्रह गरेको छ । यद्यपि बेलायतले समेत नेपालबारे नेगेटिभ एडभाइजरी जारी गरेको छैन ।
क्यानडाले नेपालबारे ट्राभल एड्भाइजरी २८ फेब्रुअरीमा रिभ्यू गरेको छ, जसमा कोरोना भाइरसको संक्रमण भित्रने डरले कतिपय वायु सेवाको उडान कटौती भएको र विभिन्न सीमा नाकासमेत बन्द गरिएको सन्दर्भमा त्यसबारे जानकारी लिएर मात्र भ्रमण गर्न आफ्ना नागरिकलाई सचेत गराइएको छ । तर सबैले चीनमा भ्रमणमा नजान आफ्ना नागरिकलाई सचेत गराएका छन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4