Comments Add Comment

साउदीको जेद्दाका विभिन्न क्षेत्रमा कर्फ्यू, अकामाको म्याद तीन महिना थप

२२ चैत, काठमाडौं । साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ हजार १७९ पुगेको छ । शनिबार थप १४० जनामा संक्रमण पुष्टि भएको छ । राजधानी रियादमा मात्र आज ६६ जनामा संक्रमण भएको उल्लेख छ । ४ जना संक्रमितहरुको मृत्यु भएसँगै साउदीमा मृतकको संख्या २९ पुगेको छ ।

एकजना नेपाली नागरिकमा यो रोगको संक्रमण देखिएको अनौपचारिक जानकारी प्राप्त भएको, तर सरकारी स्रोतबाट यसको पुष्ट्याइँसहितको जानकारी आइनसकेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । संक्रमणको अनौपचारिक जानकारी प्राप्त भएका नेपालीसँग नेपाली राजदूतावास टेलिफोन सम्पर्कमा रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले शनिबार ४ अप्रिलबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्रमा २४ घण्टे कर्फ्यु जारी गरिएको छ । तसर्थ, सो क्षेत्रमा रहने नेपालीहरुलाई कर्फ्युको समयलाई पालना गर्न दूतावासले अनुरोध गरेको छ ।

‘सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ,’ दूतावासले भनेको छ ।

रियाद क्षेत्रको कर्फ्युको समय यथावत दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म छ । यसको पूर्ण पालना गर्न आग्रह गर्दै दूतावासले कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक संजालमा नराख्न आग्रह गरेको छ ।

साउदी सरकारले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका विदेशी नागरिकहरुको तीन महिनाका लागि स्वतः नवीकरण हुने यहाँको राहदानी निर्देशकको कार्यालयले जनाएको छ।

मार्च १८, २०२० वा सोपछि अकामाको म्याद सकिएकाहरु र जून ३०, २०२० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलव्ध हुने जनाइएको छ । यो व्यवस्थाले साउदीभित्र वा बाहिर भएका सबैलाई समेट्ने निर्देशकको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment