
काठमाडौं। लकडाउनका कारण हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तीन सातादेखि घरभित्रै छन् । दाजुभाउजूसँगै छन् अर्का हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ पनि ।
लकडाउन सुरु हुनुभन्दा दुई दिन अघि चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको काम रोकेर धुर्मुस काठमाडौं आएका थिए । सरकारले लकडाउन घोषणा गरेपछि उनले जिग्रीलाई पनि घरमै बोलाए । जिग्रीको हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ को सुटिङ पनि त्यहीबेलामा रोकिएको थियो ।
तिनै हास्यकलाकारहरूले घरमा बसेको बेलामा पनि आफ्नो कलाकारितालाई भने रोकिन दिएका छैनन् । अहिले धुर्मुस, सुन्तली र जिग्रीले घरभित्रबाटै कलाकारितालाई निरन्तरता दिइरहेका छन् । तर, उनीहरुको कलाकारिताको शैली भने बदलिएको छ। सीमित स्रोत-साधनबाट सचेतनामूलक साना–साना फुटेजहरु बनाएर उनीहरुले युट्युवमा हालिरहेका छन् ।
हास्यकलाकार मात्र नभएर सामाजिक अभियन्ताको रुपमा पनि चिनिएकाले धुर्मुस–सुन्तली–जिग्रीले यो बेला चुप बस्नु हुँदैन भनेर यस्तो निर्णय लिएको बताएका छन् ।
चेतनामूलक भिडियो बनाउने सोचे पनि यो त्यति सजिलो काम भने थिएन। कन्सेप्ट थियो, क्यामरा छैन। तर, सुटिङ कसरी गर्ने ? प्राविधिक छैनन् । सम्पादन कसरी गर्ने ? ‘अड्को पड्को तेलको धुप’ भनेझैं उनीहरु जे छ त्यसैले काम गर्न थाले ।
धुर्मुस भन्छन्, ‘खिच्न त हामीले मोबाइलबाट नै खिच्ने भयौँ । तर, सम्पादनको लागि हामीलाई समस्या थियो । या त एकसटमै खिच्नुपर्थ्यो होइन भने काटेर जोड्न त हामीसँग केही उपाय नै थिएन ।’
धुर्मुसले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’का सम्पादकलाई फोन गरेर सहयोग मागे । उनले आफूलाई भिडियो मेल गरिदिन भने । तर, ठूलो फाइल भएका कारण त्यो पठाउनै समस्या भयो ।
जिग्री चाहिँ अरु उपायहरु सोच्न थाले । उनले प्ले स्टोरमा गएर एउटा भिडियो सम्पादनको एप डाउनलोड गरे । त्यसैबाट आफैंले सम्पादन सुरु गरे । धुर्मुस भन्छन्, ‘हामीलाई त्यो सम्पादन गर्न सिक्नै दिनभर लाग्यो । बल्लबल्ल जानेपछि त खुसीको सीमा नै थिएन।’
सम्पादन पनि हुने भयो, अब पार्श्र्व संगीत कसरी हाल्ने ? अर्को समस्या । धुर्मुस भन्छन्, ‘यो पनि हामीले हाम्रा सम्पादकहरुलाई फोनमा सोधेर सिक्यौँ।’
सम्पादनको काम जिग्रीले गर्थे । मोबाइलबाट सम्पादन गर्ने काम आफैँमा झ्याउ थियो नै । एउटा गल्ती भयो भने सबै उडिहाल्ने । एकपटक त पूर्ण रुपमा तयार भएको भिडियो नै उड्यो । पछि एउटा भिडियो पूर्णरुपमा तयार भयो । हेर्दा क्वालिटी पनि राम्रै देखियो । अनि बल्ल उनीहरुले त्यसलाई युट्युवमा अपलोड गरे।
भिडियोमा धुर्मुस–सुन्तलीले सानी छोरीलाई पनि अभिनय गराएका छन् । पहिलोपटक छोरीलाई अभिनय गराउन कुनै गाह्रो नभएको धुर्मुस बताउँछन् । उनले भने, ‘छोरी हामीभन्दा राम्रो अभिनय गर्न सक्छिन् । उनलाई फिल गराउन सक्यो भने गाह्रो हुन्न रहेछ ।’
देशमा आपत पर्दा धुर्मुस–सुन्तली फाउन्डेसन सहयोगको लागि जहाँ पनि पुग्ने गर्थे । अहिले अवस्था फरक छ । त्यसैले आफू बसेको ठाउँ र आफ्नो पेशाबाट नै सकेको सहयोग गरिरहेको धुर्मुसले बताए ।
‘हामीले भिडियो बनाइरहेका छौँ, यसैबाट हामीले चेतना फैलाउन सहयोग गरिरहेका छौँ’, अन्त्यमा धुर्मुसले सुनाए ।
प्रतिक्रिया 4