
२९ वैशाख, काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको पीसीआर प्रविधिबाट परीक्षण बढेको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ११ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नेपालमा गत शुक्रबार स्वीटजरल्याण्ड सरकारले सहयोग दिएको ३० हजार थान पीसीआर किट आइपुगेको थियो । त्यसपछि सरकारले पीसीआर प्रविधिबाट कोरोना परीक्षणलाई तिब्र बनाएको छ ।
११ जनामा संक्रमण
सोमबार नेपालमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । सोमबार कपिलवस्तुमा १० र सप्तरीमा एक जना संक्रमित भेटिएका हुन् ।
नेपालमा अहिलेसम्म ८९ पुरुष र ३२ जना महिला गरी १२१ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश ५ मा सबैभन्दा बढी ४० जनामा संक्रमण देखिएको छ ।
यस्तै प्रदेश १ मा ३५, प्रदेश २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
सोमबार कोसी अस्पताल विराटनगरमा उपचाररत २ जना संक्रमित डिस्चार्ज भएका छन् । भोजपुरका २६ वर्षका पुरुष १८ औं दिन र झापाका ४८ वर्षका पुरुष १५ औं दिनमा डिस्चार्ज भएका हुन् ।
२४ घण्टाको अन्तरमा गरिएको परीक्षण २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । योसँगै डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ ।
देशका विभिन्न अस्पतालमा १ सय ५३ जना शंकास्पद बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् ।
पछिल्लो २४ घन्टामा पीसीआर परीक्षण ९११ हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याएका छौं : सं.
प्रतिक्रिया 4