Comments Add Comment

अब यसरी उड्नेछन् आन्तरिक सेवाका विमान, हेर्नुस् ‘डेमो’ उडानका तस्वीर

११ असार, काठमाडौं । बिहीबार करिब डेढ सय यात्रु त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलमा आइपुगे । थुप्रै सवारी साधनले उनीहरूलाई विमानस्थलसम्म ल्याएको थियो ।

ती यात्रुले विमानस्थलको सुरक्षा जाँच, स्वास्थ्य जाँच, टिकेटिङलगायतका प्रक्रिया पूरा गरे ।

उनीहरू बुद्ध एयरको विमानसम्म पुगे । विमानभित्रिने बेलामा एयरहोस्टेजहरूले फेस मास्क वितरण गरे । सबै यात्रुलाई आ-आफ्नो सिटमा सुरक्षित बस्न अनुरोध गरिन् । विमानमा खटिएका एयरहोस्टेज र पाइलटले पीपीई लगाएका थिए । विमानस्थलमा देखिएको यो दृश्य वास्तविक उडानको थिएन, यो अभ्यास मात्रै थियो ।

आन्तरिक उडान खुलेपछि कसरी विमानसम्म यात्रु पुग्छन् र विमानबाट उत्रिएर एयरपोर्टबाहिरसम्म निस्कन्छन् भन्ने ‘डेमो’ अभ्यास गरिएको थियो ।
वास्तविकतामा विमान नउडेपछि ‘रिर्हसल’ भने विमान उडेकै परिकल्पनमा आधारित भएर गरिएको थियो । उडानका क्रममा एक जना यात्रुमा अकस्मात् कोभिड-१९ सँग सम्बन्धित लक्षण देखियो । उनलाई अन्य यात्रुभन्दा अलग्गै बस्ने व्यवस्था मिलाइयो ।

पोखरा र विराटनगरका लागि भएको उडानका दौरान विमानमा चढ्दा र झर्दा एक-पटकमा चार जना यात्रुलाई मात्र अनुमति दिइयो ।

सबै यात्रु झरिसकेपछि संक्रमणको लक्षण देखिएका बिरामीलाई विमानस्थलमा तयारी अवस्थामा रहेको एम्बुलेन्सले अस्पतालतर्फ लग्यो । तत्काल जहाज किटाणुरहित पारियो र जहाज अर्को उडानका लागि तयार भयो ।

सरकारले व्यावसायिक उडानमा प्रतिबन्ध लगाइरहेकै समयमा बिहीबार विमान उडेको अवस्था केवल नमुना प्रदर्शन थियो। विमानस्थलमै विमान राखेर लकडाउनपछि विमान उड्दा अपनाउनुपर्ने सबै प्रक्रिया पूरा गरिएको थियो ।

बिहीबार यात्रुका रुपमा अधिकांश बुद्ध एयरका एयर होस्टेस उपस्थित थिए । यो सबै प्रक्रियालाई नेपाल नागरिक उड्डयन प्राधिकरण, विज्ञ र सञ्चारमाध्यमका प्रतिनिधिले समेत यात्रुका रुपमा अवलोकन गरेका थिए ।

सोही आधारमा आउने प्रतिक्रियापछि अब सरकारले हवाई उडान सुरु गरेसँगै यात्रा सुरु हुने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले जानकारी दिए ।

अब हवाई यातायात सामान्य अवस्थामा जस्तो सहज हुने छैन । त्यसका लागि केही यात्रुले केही झन्झटिलो र सुरक्षात्मक प्रक्रिया पूरा गर्नुपर्नेछ।

निजी कम्पनी बुद्ध एयरलाइन्स आन्तरिकमा सबैभन्दा बढी यात्रु व्यवस्थापन गर्ने कम्पनी हो । सोहीकारण कम्पनीले बिहीबार हवाई यात्रा सम्बन्धमा नमुना उडान अभ्यास सम्पन्न गरेको हो।बुद्धले आफ्ना कर्मचारीलाई यात्रुका रुपमा बोलाएर ‘डेमो’ अभ्यास थियो । विमानस्थलभित्र सबै विभागमा कर्मचारी आज हाजिर भए । सबैले आफ्नो ड्युटी पूरा गरे ।

ड्युटी यसरी गरे, जसरी आगामी दिनमा आन्तरिक उडान प्रारम्भ भएपछि यात्रुका लागि गर्नुपर्नेछ ।

डेमोले देखियो यात्रुले हरेक पाइलापाइलामा सुरक्षा प्रवन्ध अपनाउनुपर्छ । प्रस्थान कक्षमा ज्वरो नाप हुनेछ। त्यही स्यानिटाइजरले हात धुनुपर्नेछ ।

चेक-इन गर्ने स्थानमा कर्मचारीले यात्रुको यात्रा विवरण खुल्ने फारम भर्नुपर्छ । त्यसपछि मात्र बोर्डिङ पास प्राप्त हुनेछ । बोर्डिङ पास लिँदा कर्मचारीले यात्रुको आईडी कार्डको तस्वीर लिनेछन् ।

जहाज चढ्ने क्रममा यात्रुले मुख ढाक्ने पारदर्शी मास्क ‘भाइजर’ लगाउनुपर्नेछ । यो उडान अवधिभर लगाउनुपर्छ। सबै यात्रुले मास्क अनिवार्य लगाउनपर्छ । फ्लाइटमा अब चकलेट, जुसलगायत फुड क्याटरिङ सेवा बन्द गरिएको छ । अत्यावश्यक पर्दा पानी भने दिइनेछ ।

विमानमा अत्यावश्यक नपरेसम्म शौचालय प्रयोगमा रोक लगाइएको छ । आजको नमुना उडान कर्मचारीलाई आत्मविश्वास बढाउन र कामसँग अभ्यस्त बनाउन महत्वपूर्ण  सावित हुने बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतले जानकारी दिए ।

हवाई कम्पनीका कारण यात्रुलाई स्वास्थ्य समस्या नहोस् भनेर यो तयारी गरिएको उनले बताए । सरकारले व्यावसायिक उडान खोल्नासाथ सुरक्षित यात्राको प्रत्याभूति गराउन यो नमुना उडान गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment