१४ असार, काठमाडौं । बाली संरक्षण विज्ञ तथा कृषि विभागका पूर्वमहानिर्देशक डिल्लीराम शर्माले भारतबाट आएको सलहको बथान सानो भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । सलह ठूलो समूहमा ८ करोडसम्म हुने भए पनि नेपालमा २–४ लाखको समूहमा मात्रै आएको बताए ।
विषादी प्रयोग गर्ने र थाल, स्पिकर, टिन बजाउने र धुँवा निकाल्ने लगायत काम गरेर सलह किराको नियन्त्रण गर्न सकिने उनको भनाइ छ । ‘मनसुनमा पूर्वबाट पश्चितमतिर हावा चल्ने भएकाले नेपाल नआउने प्रक्षेपण गरिएको थियो, तर गत बिहीबार र शुक्रबार उत्तरबाट दक्षिण र पश्चिमबाट पूर्वतिर हावा चल्यो । त्यसले भारतबाट सानो–सानो समूहमा छुट्टिएर सलह नेपाल आयो’ उनले भने ।
उनका अनुसार नेपालमा बयस्क र बच्चा दुवै खालका सलह देखिएको छ । अण्डा पार्न नसके बयस्क सलह दुई हप्तामै मर्छ भने बच्चा सलह एक महिनासम्म बाँच्छ । उनले भने, ‘यसले नेपालमा तत्कालै संख्या वृद्धि गर्न सक्ने देखिन्न, किनकि यसले बालुवामा मात्रै अण्डा पार्छ, जसका लागि राजस्थान नै जानुपर्छ ।’
संख्या वृद्धि हुँदैन भनेर चुप लागेर बस्न नहुने शर्माले बताए । मकै र उखुबाली तथा धानको ब्याडमा यसले असर गर्ने देखिएकाले विषादी प्रयोग गरेर नियन्त्रण गर्न सरकारले अपरेसन चलाउनुपर्ने उनको भनाइ छ ।
शर्माका अनुसार आइतबारको हावाको गति र दिशा हेर्दा सलह कपिलवस्तुबाट पश्चिमतिर जाने अवस्था देखिएको छैन । पूर्वबाट हावा फैलियो भने दाङ र बाँकेसम्म पुग्ने देखिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4