+
+

सुदूरपश्चिम प्रदेश सभा : प्रतिपक्षीको नाराबाजीका बीच बजेटमाथि छलफल सुरु

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ असार २३ गते १७:३०

२३ असार, कैलाली । प्रतिपक्षी दलका सांसदको नाराबाजी र सत्तारुढ दलका सांसदको नियमापत्ति दुवैलाई बेवास्ता गर्दै सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफललाई अगाडि बढाएका छन् ।

मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद हर्कबहादुर कुँवरले बजेटमाथि धारणा राखे । बजेटमाथि सुरुदेखि  नै रुष्ट रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले नाराबाजी गर्दै रोस्टम घेराउन गरे पनि सभामुख थापाले वास्ता गरेनन् ।

सभामुखतर्फ पिठ्युँ फर्काएर सदनको अपमान गरेको भन्दै सत्तारुढ दलका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारीले नियमापत्ति जनाए । तर सभामुखले त्यो विषयलाई पनि ध्यान दिएनन् ।

बजेटमाथि धारणा राख्दै कुँवरले बजेट उत्कृष्ट रहेको दाबी गरे । उनले भने, ‘यो बजेटले जनता र समाजको पक्षमा राम्रो र उन्नत छ । बजेटले सबै क्षेत्रलाई समेटेको छ ।’ कुँवरले सरकारले कार्यान्वयन गर्न सक्ने बजेट ल्याएको समेत बताए । ‘साना किसान, मजदुर र स्वास्थ्यमा राम्रो बजेट विनियोजन भएको छ, ’ उनले भने, ‘यो बजेट पारित गरिनुपर्छ ।’

उनको धारण नसकिँदासम्म पनि नाराबाजी र नियमापत्ति चलिरह्यो ।

बजेट सन्तुलित नभएको, सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरेर भ्रष्टाचार मौलाएको भन्दै प्रतिपक्षी दलले नियमित प्रदेश सभा बैठक अवरोध गर्दै आइरहेको छ। प्रतिपक्षी दलको अवरोधका कारण २० दिनसम्म प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल हुन सकेन ।

आइतबार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेटमाथिको छलफल सुरु गर्न प्रस्ताव पेस गरेका थिए । आइतबार पनि प्रतिपक्षी दलले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।
मंगलबार कुँवरले धारणा राखेपछि अर्काे बैठक बुधबार बिहान ८ बजेका लागि आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?