
२६ असार, काठमाडौं । कृषि सामाग्री कम्पनी अन्तरगतको ८० हजार मेट्रिकटन युरिया र डिएपी मल खरिद गर्ने ठेक्का विवादित व्यवसायी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ समूहको शैलुङ इन्टरप्राइजेजले पाएको छ ।
विभिन्न सडक आयोजना अलपत्र छाडेको भनेर बदनामी कमाएको शैलुङ कन्स्ट्रक्सनकै भगिनी कम्पनीले प्रतीतपत्र खोलेको एक सय १७ दिन भित्र युरिया मल कम्पनीले तोकेको स्थानमै ल्याई पुर्याइदिने गरी खरिद टेण्डर हात पारेको हो ।
भने अन्य दुई वटा ठेक्का भर्खरै स्वीकृतिको चरणमा छ । कृषि सामाग्री कम्पनीले शैलुङ इन्टरप्राईजेजसँग २७ अपि्रल २०२० मा २५ हजार टन युरिया मल आयातका लागि सम्झौता गरेर प्रतितिपत्र खोली सकेको छ ।
यस्तै थप ३० हजार टन यूरीया मल आयात गर्न शैलुङसँग कृषि सामाग्री कम्पनीले असार १८ गते सम्झौता गरेको छ भने २५ हजार डिएपी मल आयातको टेन्डर पनि शैलुङ इन्टरप्राइजेजले केहीदिन अघि पाएको कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले अनलाइनखबरलाई बताए ।
ग्लोबल टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेको र टेण्डर प्राप्तिका लागि योग्य रहेका कारण शैलुङ इन्टरप्राइजेजसँग सम्झौता गरिएको भण्डारीले बताए ।
‘ग्लोबल टेण्डरमा सहभागीमध्ये सबै भन्दा कम रकम बोल कबोल गर्ने कम्पनीसँग ठेक्का सम्झौता गरिएको हो, सामान प्राप्त भएपछि मात्रै भुक्तानी गर्ने व्यवस्था सम्झौतामा छ’ उनले भने ।
पहिलो २५ हजार मेटि्रक टन यूरिया आयात गर्न शैलुङ इन्टरप्राइजेजले ३ सय २० डलर प्रतिमेट्रिक टन दरमा बोलकबुल प्रस्ताव गरेको थियो । कम्पनीको लागि २५ हजार मेट्रिक टन यूरिया ल्याउन सो कम्पनीले ८० लाख डलर प्रस्ताव गरेको थियो ।
यस्तै दोस्रो बोलपत्रमा कम्पनीले ३ सय ११.५० सेन्ट डलरमा ३० हजार मेट्रिक टन युरिया ल्याउने प्रस्ताब गरेको थियो । यसका लागि शैलुङले ९३ लाख ४५ हजार डलरमा यूरीया भित्र्याउने कबुल गरेको छ ।
मल उत्पादक कम्पनीबाट मल नेपाल हिँडाएपछि कुल सम्झौताको १० प्रतिशत र बाँकी रकम नेपालमा मल हस्तान्तरणपछि मात्रै भूक्तानी गर्ने भएकाले कुनै आशंका नरहेको कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले दावी गरे ।
टेण्डर प्रक्रियामा कुनै कानुनी प्रावधान नमिचिएको र विद्यमान कानूनअनुसार पहिलो पटक नेपाली कम्पनीले मल आयातको ठेक्का पाएको पनि उनले बताए । यसअघि विदेशी कम्पनीले मात्रै मल आयातको ठेक्का पाएको र उनीहरुले कोलकातामा मल ल्याईपुर्याइए रकम पाउने प्रावधान रहेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया 4