+
+

कर्णालीमा साउनदेखि विद्यालय सञ्चालन गर्ने प्याब्सनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते १९:०३

३० असार, सुर्खेत । कर्णालीमा निजी विद्यालयहरुले साउनदेखि पठन-पाठन सुरु गर्ने बताएका छन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कर्णालीले साउन चार गते आइतबारदेखि पठन-पाठन सुरु गर्ने तयारी गरेको हो ।

लकडाउन खुकुलो बनाए पनि सरकारले विद्यालयलाई तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन-पाठन सुरु गर्न लागेको प्याब्सन कर्णालीका अध्यक्ष नैनसिंह खत्रीले बताए ।

आवश्यक सुरक्षा मापदण्ड र भौतिक दुरी कायम गरी पहिलो चरणमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई कक्षा कोठाबाटै पठन-पाठन सुरु गर्न लागिएको अध्यक्ष खत्रीको भनाइ छ ।

प्रत्येक विद्यालयमा एक/एकजना विद्यालय नर्सको अनिवार्य व्यवस्था गरिने छ । एउटा बेन्चमा एकजना र एउटा कक्षा कोठामा १५ जनामात्रै विद्यार्थी राखिने छ ।

प्रत्येक कक्षा कोठामा हात धुने साबुन पानीको छुट्टाछुट्टै व्यवस्था गर्ने, विद्यालय प्रवेश गर्नुअघि थर्मल गनमार्फत ज्वरो चेकजाँच गर्ने, कक्षाकोठा स्यानिटाइज गर्नेलगायतका व्यवस्था मिलाइने छ ।

‘सामाजिक दुरी कायम गर्दै पूर्ण सुरक्षाका साथ साउन चार गते आइतबारदेखि पठन-पाठन सुरु गछौं,’ अध्यक्ष खत्रीले भने, ‘विद्यार्थी र अभिभावकको अनुरोधमै हामीले पठन-पाठन सुरु गर्न लागेका हौं ।’

शुल्क उठाइने

कोरोना भाइरस (कोभिड-१९) का कारण गत चैत ११ देखि देशव्यापी लकडाउन भएपछि बन्द रहेका शैक्षिक संस्था अझै खुलेका छैनन् । तर सरकारले असार १ देखि वैकल्पिक सिकाइका लागि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरिएको भए पनि प्रभावकारी हुन सकेको छैन ।

प्याब्सन कर्णालीले पठन-पाठन सुरु भए पनि नभए पनि १२ महिनामध्ये एक महिनाको शुल्क बाहेक ११ महिनाको शुल्क लिनुको विकल्प नभएको बताएको छ । तत्कालका लागि शुल्क नलिए पनि केही समयपछि शुल्क लिइने अध्यक्ष खत्रीले बताए ।

‘अहिले नै हामी शुल्क उठाउनेमा केन्दि्रत छैनौं,’ अध्यक्ष खत्रीले भने, ‘नेपाल सरकार, प्याब्सन केन्द्रको निर्देशन र अभिभाकसँगको छलफलमा शुल्क निर्धारण गर्छौ । ढिलो चाँडो १२ महिनामा एक महिना बाहेक ११ महिनाको शुल्क लिनुको विकल्प छैन ।’

नियामक निकायको कारबाही गर्ने चेतावनी

प्याब्सनले विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि नियामक निकायहरुले भने केन्द्र सरकारको निर्णयविपरीत विद्यालय सञ्चालन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उप-सचिव ललितबिक्रम सिंहले केन्द्र सरकारले विद्यालय सञ्चालनका लागि स्पष्ट निर्देशन नदिएसम्म विद्यालय सञ्चालन गर्न नमिल्ने बताए ।

‘यो अन्तिर्राष्ट्रिय विपत्ति हो । नेपाल सरकारले सञ्चालन गर्न स्पष्ट निर्देशन नगरेसम्म विद्यालय सञ्चालन गर्न मिल्दैन,’ उनले भने, ‘सरकारको निर्देशन कसैले अवज्ञा गर्छ भने कारबाही गछौं ।’

यो बेला सार्वजनिक वा निजी विद्यालयहरुले पठन-पाठन गराउने, भर्ना गर्ने र शुल्क लिने जस्ता काम गरे कारबाहीको भागिदार हुने उप-सचिव सिंहले बताए ।
कर्णाली प्रदेशका कक्षा ९ र १० कक्षा सञ्चालन हुने निजी विद्यालयहरुको संख्या ७७ छ । तीमध्ये ५४ विद्यालय सुर्खेत जिल्लामा छन् ।

प्याब्सनका अनुसार सल्यानमा पाँच, रुकुम पश्चिममा सात, जुम्लामा चार, मुगु र दैलेखमा दुई-दुई, कालीकोट, डोल्पा र हुम्लामा एक-एक विद्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?