
८ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त हुँदैछन् ।
डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार थुनामुक्त गर्दैछ । सर्वोच्च अदालतको पत्र प्राप्त भइसकेकाले कोइरालालाई थुनामुक्त गर्न कागजी प्रक्रिया सुरु गरिएको जेलर गणेश आचार्यले अनलाइनखबरलाई बताए ।
सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।
यसअघि जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ भनेको छ ।
साथै, श्रीमतीको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्न जाने भएको भन्दै सजाय घटाइएको छ ।
नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाए ।
शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया 4