Comments Add Comment

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण

एकैघरका तीनजना संक्रमित, संक्रमणको हिस्ट्री फेला परेन

१९ साउन, विराटनगर । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन ।

विराटनगर- ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ ।

मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।

आचार्यले अनलाइनखबरसँग भने, ‘मलाई १०/१२ दिन अगाडि दुई दिनजति सामान्य ज्वरो आएको थियो । सिटामोल खाएपछि ठीक भएको थियो । संक्रमण भएको हो कि भनेर अरुलाई नसरोस् भनी घरमै आइसोलेसनमा बसिराखेको थिएँ ।’

अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताए ।

आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी थिए ।

बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ । उनी भन्छन्, ‘विभिन्न ठाउँहरुमा मिटिङहरु गरिरहनुपर्ने हुन्छ । प्रायःजसो सेक्युरिटीवालाहरुलाई, पुलिसहरुलाई देखिएको छ । पुलिसहरु वरिपरि हुन्छन्, हिँड्दाखेरि सिँढीको रेलिङहरु समातिन्छ । ढोकाहरु खोल्नुपर्‍यो, कुर्सीहरुमा बसिन्छ ।’

प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् ।

आचार्यलाई कोरोना कहाँबाट सरेको हो भन्ने ट्राभल हिस्ट्री पत्ता नलागेका कारण समुदायस्तरमा कोरोना संक्रमणको स्पष्ट संकेत देखिएको छ । र, यो घटनाले अब भीआईपीहरु पनि असुरक्षित रहेको संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment