Comments Add Comment

सांसद आलेको अस्पताल दौडाहा, बिरामी भेट्दै सहयोग गर्दै

२९ साउन, काठमाडौं । कोरोना महामारीकै वीचमा डोटीका सांसद प्रेम आले विहीबार दिनभर विभिन्न अस्पतालको दौडाहामा निस्किए । विहीबार बिहान वीर अस्पताल पुगेका सांसद आलेले गृहजिल्ला डोटीको केआइसिंह गाउँपालिकाका वडा नम्बर ३ का ८ वर्षीय बालक प्रविन जोशीलाई भेटेर स्वास्थ्य स्थितिको जानकारी लिए । मतिष्क रोगबाट पीडित जोशीको उपचारका लागि उनले पिता भीमराज जोशीको हातमा १० हजार थमाइदिए ।

वीर अस्पतालबाट निस्किएका आलो अपरान्ह १२ बजे ललितपुरको सुमेरु अस्पताल पुगेर डोटीकै आदर्श गाउँपालिका ६ का वडा अध्यक्ष लालबहादुर खडायतलाई भेटे । आर्थिक अवस्था कमजोर रहेका वडाध्यक्षलाई २५ हजार नगद सहयोग गरेर उनी ट्रमा सेन्टर पुगे ।

अपरान्ह ४ बजे राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर भारतमा मजदुरी गर्ने क्रममा ढाड भाँचिएर उपचार गराइरहेका ३५ वर्षीया खगी बिकलाई १५ हजार रुपैया सहयोग प्रदान गरे ।
सोही दिन सांसद आलेले आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौका घर भएका मिर्गौला पीडितकी श्रीमती राजमती देवी खडायतलाई १५ हजार नगद सहयोग गरेर फर्किए ।

जिल्लाका जनता बिरामी परेपछि आफूले सकेसम्म सबै बिरामीलाई भेटेर सहयोग गर्ने गरेको सांसद आलेले बताए । नेकपा डोटी जिल्ला इञ्चार्जसमेत रहेका आलेले बिरामीलाई भेटेर सान्त्वना दिँदा पनि उनीहरुलाई ढाडस मिल्ने भन्दै आफूले सकेको आर्थिक सहयोग पनि गर्ने गरेको बताए ।

सांसद भएवापत प्राप्त तलब भत्ता लगायतको स्रोतबाट प्राप्त रकम जिल्लाबासीका व्यक्तिगत समस्या समाधानमा लगाउने गरेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment