+
+

पहिचानका आधारमा प्रदेश ५ को नाम राख्न जसपा र जनमुक्तिको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १७:५६

१९ असोज, बुटवल । प्रदेश ५ को नाम पहिचानका आधारमा राख्न र राजधानी बुटवल नै कायम गर्न जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले माग गरेका छन् । प्रदेश सरकारले प्रदेश सभामा नामाकरण लुम्बिनी र राजधानी दाङ प्रस्ताव गरिएकोप्रति विरोध जनाउँदै दुवै पार्टीले सोमबार विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलमा र जनता समाजवादी पार्टीले परासीमा प्रदर्शन गरेका हुन् ।

प्रदेश ५ थारु र मगर समुदायको बाहुल्य भएको र उनीहरुको ऐतिहासिक भूमि भएको भन्दै जनमुक्ति पार्टीले प्रदेशको नाम लुम्बिनी–थरुहट–मगरात राख्न र स्थायी राजधानी बुद्ध सर्किटमै राख्न माग गर्दै प्रदर्शन गरेको हो । बुटवलको राजमार्ग चौरहामा भएको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले सरकारले आदिवासी जनजाति थारु र मगरको पहिचान मेटाउने गरी लुम्बिनी नामाकरण गरेको भन्दै आपत्ति जनाए । प्रदेशको राजधानीको निर्णय प्रदेश सभाले गर्ने विषय भएपनि सत्तारूढ पार्टी नेकपाका दुईजना अध्यक्षको सहमतिका नाममा प्रस्ताव ल्याउनु संविधान र संघीयताको मर्ममाथि गम्भीर प्रहार भएको उनले आरोप लगाए । प्रदेशको राजधानी बुद्ध सर्किटमा पर्ने रुपन्देही वा कपिलवस्तुमा राख्नुपर्ने उक्त पार्टीले माग गरेको छ ।

विरोधसभामा बोल्दै मगर महासंघका अध्यक्ष छत्र दर्लामी, मगर संघ प्रदेश ५ उपाध्यक्ष धनी आले, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम थापा, जनमुक्ति युवा महासंघ प्रदेश अध्यक्ष डिबि थापा, राष्ट्रिय थारु मंचका संयोजक रेखाप्रसाद चैधरीले सरकारले प्रस्ताव फिर्ता नगरे चरणवद्ध आन्दोलनमा उत्रिने बताए ।

यसैबीच जनता समाजवादी पार्टी नवलपरासी पश्चिमले पनि प्रदेशको नामाकरण मधेश–थरुहट राख्न र राजधानी बुटवल बनाउन माग गर्दै प्रदर्शन गरेको छ । सोमबार सदरमुकाम परासीमा जसपाका नेता तथा कार्यकर्ताले गरेको प्रदर्शनमा नाम र राजधानीको प्रस्ताव फिर्ता लिन माग गरेका हुन् । प्रदर्शनपछि आयोजित विरोध कार्यक्रममा बोल्दै जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले मधेसी र थारूहरूको बसोबास नै नरहेको स्थानमा लगेर राजधानी राख्न खोज्नु मधेस आन्दोलनको मर्म र भावना विपरीत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?