
१४ कात्तिक, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले बिहीबार नीस सहरको एक चर्चमा भएको चक्कु आक्रमण इस्लामिक आतंकवादी आक्रमण भएको बताएका छन् । उनले फ्रान्स आतंकवादको अगिाडि नझुक्ने बताएका हुन् । साथै उनले मानिसहरुलाई धैर्य र एकता कायम राख्न आग्रह गरेका छन् ।
बिहीबार नोट्रे डाम ब्यासिलिकामा एक व्यक्तिले चक्कु आक्रमण गरी दुई महिला र एक पुरुषको हत्या गरेका थिए । दुई साताभन्दा कम समयमा फ्रान्समा यस किसिमको दोस्रो आक्रमण भएको हो ।
आक्रमणकारी चर्चमा १७ सेन्टिमिटरको ब्लेड लिएर प्रवेश गरेका थिए । उनले आक्रमण गरेका दुई जनाको घटनास्थलमा नै ज्यान गएको थियो भने एकजना गम्भीर घाइते भएकी थिइन् । तर, उनको केही समयपछि मृत्यु भएको थियो । आक्रमण भएलगत्तै पुगेको घटनास्थलमा पुगेको प्रहरीले आक्रमणकारीमाथि गोली प्रहार गरेको थियो ।
आक्रमणकारीको साथमा तीन चक्कु र एउटा कुरान पनि फेला परेको थियो । आक्रमणकारी इटालीबाट आएको हुन सक्ने बताइएको छ । उनी ट्युनिसियन नागरिक रहेको बताइएको छ ।
फ्रान्सका राष्ट्रपति म्याक्रोँले इस्लामिक अतिवादविरुद्ध दिएको अभिव्यक्तिको कारण इस्लामिक मुलुकहरु रुष्ट भएको अवस्थामा बिहीबार यो आक्रमण भएको हो ।
स्रोत :बीबीसी
प्रतिक्रिया 4