Comments Add Comment

किन दिएनन् पुटिनले बाइडनलाई बधाई ?

Photo Credit : REUTERS

८ मंसिर, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिलेसम्म अमेरिकामा राष्ट्रपति निर्वाचनमा जित हात पारेका जो बाइडनलाई बधाई दिएका छैनन् । बाइडनलाई बधाई नदिएको विषयमा बोल्दै उनले कानुनी लडाइँको फैसला आउँदासम्म प्रतीक्षाा गर्ने बताएका छन् । रुसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले औपचारिक बधाई दिन ढिलाइ गर्दा रुस र अमेरिकाको द्विपक्षीय सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् । यद्यपि यी दुई मुलुकको सम्बन्ध यसअघि नै तनावपूर्ण रहँदै आएको छ । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सधैं पुटिनको प्रशंसा गर्दै आएका छन् । ट्रम्पमाथि राष्ट्रपति बन्न रुसको सहयोग लिएको आरोप पनि लागेको छ ।

बाइडनलाई बधाई नदिएर दुई मुलुकको सम्बन्ध बिगारिरहेको त होइन भन्ने प्रश्नमा पुटिनले भने, ‘जुन सम्बन्ध पहिलादेखि नै खराब छ, त्यो अझै खराब के हुन्छ ?’

पुटिनले भने, ‘हाम्रो निवर्तमान राष्ट्रपति ट्रम्प र बाइडन दुवैसँग सम्मानजनक सम्बन्ध छ । हामीलाई कोहीसँग पनि कुनै समस्या छैन । यो एक औपचारिक विषय हो । हाम्रो लुकेको कुनै एजेन्डा छैन । मलाई औपचारिक प्रक्रिया निभाउनमा हतार गर्दैमा खराब सम्बन्ध राम्रो बन्छ भन्ने लाग्दैन ।’

पुटिनले यसअघि नै बधाई दिइसकेका विश्वका अन्य नेताहरु पनि निकै अनुभवी रहेको र उनीहरुलाई कुन समयमा के गर्नुपर्छ भन्ने राम्रोसँग थाहा भएको बताए । पुटिनले यसअघि पनि सबैले हिलारी क्लिन्टनलाई बधाई दिएको तर जित भने ट्रम्पले हात पारेको बताए ।

पुटिनले अमेरिकाको जुनसुकै राष्ट्रपतिसँग पनि काम गर्न तयार रहेको बताए । यद्यपि भोट गन्ने र घरेलु राजनीतिक संघर्ष नरोकिँदासम्म पर्खिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘अमेरिकी जनतालाई जुन राष्ट्रपतिमा भरोसा छ, हामी उनैसँग काम गर्न तयार छौं ।’

गत नोभेम्बर ३ मा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडन विजयी भएका थिए । तर, ट्रम्पले भने उक्त निर्वाचनको नतिजा स्वीकार गरेका छैनन् । जसको कारण केही राज्यमा अझै पनि पुनः मतगणनाको काम भइरहेको छ ।

यसअघि चीनले पनि बाइडनलाई ढिला गरी बधाई दिएको थियो । चीनले नोभेम्बर १३ मा मात्र बाइडनलाई बधाई दिएको थियो । पछिल्लो समय चीन र अमेरिकाको सम्बन्ध पनि निकै तनावपूर्ण देखिएको छ । सन् २०१६ मा ट्रम्पले निर्वाचनमा जित हात पार्दा भने पुटिनले तत्काल ट्रम्पलाई बधाई दिएका थिए । यद्यपि बाइडनको पालामा भने उनी प्रतीक्षा गर्नु जरुरी रहेको भन्दै आइरहेका छन् । त्यसो त बाइडनले ब्राजिल, मेक्सिको र उत्तर कोरियाबाट पनि बधाई पाएका छैनन् ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो ट्रम्पका विश्वासपात्र मानिन्छन् । बाइडनले आफ्नो चुनावी अभियानमा अमेजनको जंगल बचाउन ब्राजिललाई दबाब दिने बताएका थिए ।

त्यस्तै मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेजले पनि बाइडनलाई बधाई दिन हतार नगर्ने बताएका थिए । लोपोजको पनि ट्रम्पसँग राम्रो सम्बन्ध छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पनि बाइडनलाई बधाई दिएका छैनन् । यसअघिको निर्वाचनमा उनले पनि ट्रम्पलाई तत्काल बधाई दिएका थिए । बाइडनले रुस र चीनको विरुद्धमा निकै कडा नीति अख्तियार गर्न सक्ने अनुमान गरिएको छ । साथै ट्रम्पको गलत नीतिको कारण उनको कार्यकालमा चीन र रुसले आफ्नो प्रभाव बढाउने मौका पाएको केही आलोचकहरुको भनाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment