Comments Add Comment

सेयर बजारमा पर्ला राजनीतिक हलचलको प्रभाव ?

५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे देखियो । नेपाल स्टक एक्सचेञ्ज्मा कारोबार हुने धेरै कम्पनीहरुको सेयर मूल्य घट्यो । तर सबै कम्पनीहरुको भने घटेको छैन । केही यस्ता कम्पनीहरु छन् आइतबार अधिकांशको मूल्य घट्दा पनि ति कम्पनीहरुको सेयर मूल्य करिब १० प्रतिशतले उकालो लाग्यो ।

जस्तो युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य कारोबार खुलेको पहिलो दिन नै २९ रुपैयाँले बढ्यो । आइतबार महुली सामुदायिक लघुवित्तको सेयर मूल्य ८२ रुपैयाँले बढ्यो भने हिमालयन डिस्टीलरी लिमिटेडको मूल्य आज एकैदिन १४७ रुपैयाँले बढेको छ ।

तर, समग्रमा बजार ९६ अंक भन्दा धेरैले ओरालो लागेपछि देशमा देखिएको राजनीतिक परिघटनाले बजारमा ठूलै असर पार्ने हो कि भन्ने आशंका देखिएको छ । तर, संसद विघटन भएकै आधारमा बजार उथलपुथल नै हुन्छ भन्नु गलत हुने प्रतिक्रिया विज्ञको छ । राजनीतिक घटनाको कारण बजारमा असर देखिने भए त्यो क्षणिकमात्रै हुने उनीहरुको तर्क छ ।

सेयर बजारका विश्लेषक तथा पूर्ब बैंकर अनलराज भट्टराई अहिलेको राजनीतिक कारणले बजारमा त्यति ठूलो असर नपर्ने बताउँछन् । आइतबार लगानीकर्ताको मनोबल घटेको देखिए पनि सधै यस्तो भने नहुने उनको भनाइ छ । बजारमा कुनैपनि हालतमा ठूलो असर नपर्ने उनको तर्क छ ।

यसअघि दुई तिहाई बहुमतसहितको स्थिर सरकार बन्दा धेरैले अब बजार निकै उचालिने प्रक्षेपण गरेका थिए । संविधान बनेपछि निर्वाचनबाट बहुमतसहित ५ वर्षको स्थिर सरकार बनेकाले अब राजनीतिक होइन, आर्थिक मुद्दाले प्राथमिकता पाउने बताइएको थियो । जसका कारण पुँजी बजारमा निकै ठूलो सुधार हुने अपेक्षा गरिएको थियो ।

‘तर त्यसबेला अवस्था फरक रह्यो, बढ्छ भनिएको बजार त झन घट्यो’ भट्टराई भन्छन्, ‘हाम्रो देशमा पहिले पनि अस्थिर राजनीति नै थियो, अस्थिर राजनीतिकै कारण पुँजी बजारमा निकै ठूलो असर पर्छ भन्ने कुरामा सहमत हुन सकिन्न ।’

यसकारण अहिलेको अवस्थालाई हेरेर अनावश्यक रुपमा बजारका विषयमा तर्क गर्न नहुने उनको सुझाव छ । बजार घटबढ हुनुलाई सामान्य रुपमै लिनु पर्ने उनी बताउँछन् । राजनीतिक कारणले लगानीकर्ताको मनोवलमा असर गर्ने उनको भनाइ छ ।

आत्तिएर सस्तोमा सेयर बिक्री नगर्न उनको सुझाव पनि छ । ‘स्थिर सरकार बनेपछि बजार बढ्छ भनेको उल्टै १८ सय विन्दुमा रहेको नेप्से परिसूचक  बाट १ हजारमा आएको थियो, पुँजीकरणमा पनि व्यापकै पहिरो आएको थियो’ भट्टराई भन्छन्, ‘अहिले बाहिर हल्ला गरे जस्तो हुँदैन, बोरु लगानीकर्ताहरु सेयर बिक्री गर्न हडबढाउनु चाहिँ भएन ।’

अब बजार घट्ने भनेको आर्थिक कारणले भएको भट्टराईको तर्क छ । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा निकै नराम्रो असर गरेको छ । व्यापार व्यवसायहरु पूर्ण रुपमा सञ्चालन हुन नसक्दा निजी क्षेत्र समस्यामा छ ।

यद्यपि, पछिल्लो समय अलि सहज पनि बन्दै गएको छ । अझै व्यवसायिक वातावरण नबन्ने हो भने असर पर्ने भए पनि अब अर्थतन्त्र चल्मलाउने र पुँजी बजारमा पनि राम्रै प्रभाव पार्ने भट्टराईको भनाइ छ । कोरोनाका बारण असर परिरहेको बेला राजनीतिमा आएको उथल-पुथलले लगानीकर्ताहरुलाई निरुत्साहित बनाएको छ । तर यो सधै नरहने उनले बताए ।

‘शान्त तलाउमा ढुंगा हानेजस्तै’

आइतबारको बजारमा शान्त तलाउँमा ढुंगा हाने जस्तै भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अम्बिका प्रसाद पौडेल बताउँछन् । कसैले नसोचेको घटना आइतबार नेपाली राजनीतिमा भएको र त्यसको असर पुँजी बजारसम्म पुगेको उनले बताए । तर यो तत्कालका लागि मात्रै भएको उनको तर्क छ ।

‘शान्त तलाउमा ढुंगा हानेजस्तै भयो, पुँजी बजारले कुनै घटना घट्दा तत्कालै रियाक्सन गर्छ जसको प्रभाव बजारमा आज देखियो’ नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष समेत रहेका उनले भने, ‘तर यो सँधै भने हुने होइन, तलाउमा हानेको ढुंगाले पानीको छाल विस्तारै सुकेजस्तै आज देखिएको बजारको तरङ्ग भोलि हट्छ ।’

सोमबार शुरुमा बजार घटे पनि दिउँसो लय समात्ने उनको अनुमान छ । पुँजी बजारमा निकै ठूलो असर पर्छ भन्ने हल्ला गलत भएको उनी बताउँछन् ।

आर्थिक क्रियाकलापमा असर पर्दा भने नकरात्मक असर पर्ने उनले बताए । तर अब कोरोनाका त्रास पनि विस्तारै घट्दै गएको र व्यवसायिक वातावरण बढ्दै गएको कारण अब त्यस्तो नकरात्मक असर नपर्ने उनले बताए ।

‘आत्तिने बानी पुरानै हो’

नेपाली सेयर बजारमा कहिले निकै ठूलो अंकले बढ्ने त कहिले ठूलो अंकले घट्ने भइरहन्छ । कात्तिक यता सेयर बजारमा निकै ठूलो सुधार आयो । लगातार बजार बढ्न थालेपछि बजारमा चलखेल भएको आशंका समेत गरिएको थियो ।

तर, मंसिर महिनामा नै एक दिन १२३ अंक भन्दा बढीले बजार घट्यो । त्यसपछि भने मौदि्रक नीतिको असर परेको तर्क गरियो । कुनै घटनाका कारण लगानीकर्ताहरु आत्तिँदा बेलाबेलामा यस्तो भइरहने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का एक अधिकारी बताउँछन् ।

‘हिजो ज्ञानेन्द्र राजाले प्रधानमन्त्रीलाई पदबाट हटाएर सत्ता शक्ति हातमा लिदा पनि बजार निकै ठूलो अंकले बढेको थियो, पछि राजा हटाएर गणतन्त्र आउँदा पनि बजार ह्वात्तै बढेकै हो’ नेप्सेका ती अधिकारी भन्छन्, ‘यि दुई घटना फरक हुन्, एउटा घटनाले बढ्दा अर्को घटनामा घट्नु पर्ने थियो तर त्यो भएन, यो सबै आत्तिने बानिका कारण हो ।’

लगानीकर्ताहरु आत्तिएर हठात निर्णय लिदा यस्तो असर पर्ने उनी बताउँछन् । कुनै घटना घट्ने वित्तिकै बजारमा लगानीकर्ताहरु किन्ने वा बेच्ने लाइनमा लाग्दा समस्या हुने गरेको उनको भनाइ छ । आइतबारको कारोबारको हकमा पनि त्यस्तै भएको उनले बताए ।

तर केहीदिन घटेपनि पुनः बढ्न सुरु हुने उनी बताउँछन् । आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको छ । आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक किनबेच हुँदा कारोबार रकम भने ८ अर्ब ७० करोड ८५ लाख भन्दा धेरै भएको छ ।

उच्च गिरावट भए पनि आइतबारको बजारमा युनाईटेड आइडीआई मार्दी हाइड्रोपावर, माहुल सामुदायिक लघुवित्त, सनराईज प|mष्ट म्युचल फण्ड, बेस्ट फाइनान्स र हिमालयन डिस्टिलरी लगायतका कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment