१७ पुस, काठमाडौं । कोभिड महामारीमा मुटुरोगीको ज्यान बचाउने अग्रपंक्तिका अस्पतालमध्ये पहिलो नम्बरमा आउँछ– शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र । महामारीकालमा यो अस्पतालले अति नाजुक अवस्थाका थुप्रै मुटुरोगीलाई आकस्मिक शल्यक्रिया गरेर असामयिक मृत्युबाट जोगायो ।
गंगालाल अस्पतालले कोभिड महामारीबीच २८४ जनाको साँघुरिएको मुटुको नशा खोल्यो (प्राइमरी एञ्जिओप्लास्टी) भने ८६३ जनाको एञ्जियोग्राम गर्यो । त्यसैगरी हृदयघात भएर आएका २३२ जनाको ‘प्राइमरी पीसीआई’ गर्यो । यस्ता बिरामीको आकस्मिक शल्यक्रिया गर्नुपर्ने भएकाले पीसीआर रिपोर्ट कुर्ने समय हुँदैन । त्यसैले प्राइमरी एञ्जियोप्लास्टी बिरामीलाई झै चिकित्सकको लागि पनि जोखिम हो ।
महामारीको बेला यति धेरै आकस्मिक शल्यक्रिया गर्ने गंगालाल पहिलो अस्पताल हो । अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार, महामारीका बीच दक्षिण एसियाका अरु ‘हर्ट सेन्टर’मा यति धेरै आकस्मिक शल्यक्रिया भएको पाइन्न ।
एञ्जिओप्लास्टीझै पेसमेकर पनि आकस्मिक रुपमा राख्नुपर्ने भएकाले बिरामीलाई कोरोना संक्रमण भए, नभएको चिकित्सकलाई थाहा हुन्न । महामारीबीचमा गंगालालको टिमले १५ जनामा पेसमेकर राख्यो । त्यस्तै, १५ जनाको मुटुमा प्वाल टाल्ने अपरेशन (डिभाइस क्लोजर) गर्यो भने १८ जनाको मुटु वरिपरि जमेको पानी झिकियो । तत्कालै चिकित्सा सेवा नपाए मुटु वरिपरि पानी जमेका बिरामीको मृत्यु हुने सम्भावना ज्यादा हुन्छ ।
महामारीको सुरुवाती चरणदेखि नै कोभिड र ननकोभिड मुटुरोगीको उपचार गरेको गंगालाल यसमा कसरी सफल भयो त ? यो लगायतको जिज्ञासा लिएर अनलाइनखबरको टोलीले अस्पतालका निर्देशक डा. अधिकारी, कोभिड रेस्पोन्स टिमका डा. रिजु महर्जन, डा. कुञ्जन शेर्पा, डा. बटुकुमार श्रेष्ठ, नर्सहरु अनिता देवान र प्रतिवादन डंगोल लगायतलाई भेट्यो ।
‘चुनौती त छ, तर कोभिड बिरामी व्यावस्थापन गर्न गंगालाल सक्षम छ’, सबैको भनाइको सार छ, ‘योभन्दा खराब अवस्था आए पनि हामी व्यवस्थापन गर्न सक्षम छौं ।’
कोभिड लागेका मुटु रोगीको लागि छुट्टै वार्ड
महामारीका बेला विगतको तुलनामा जटिल शल्यक्रिया बढी गरेको अस्पतालका निर्देशक डा. अधिकारी बताउँछन् । नन-कोभिड मुटुरोगीको उपचारमा गंगालालले आफ्नो रेकर्ड तोड्यो र कोभिड संक्रमित मुटुरोगीलाई पनि गेटबाट नफर्काएको उनले बताए ।
अन्य अस्पतालले कोभिड बिरामी राख्दा ‘मास ट्रान्समिसन’ हुन्छ भन्दै बिरामी फर्काउँदा गंगालालमा दुबैखाले बिरामीले सेवा पाए । राम्रो के भयो भने पछि अन्य अस्पतालले ‘गंगालाल मोडल’ अपनाए । ‘कोभिड लागेका मुटुरोगीको लागि छुट्टै डेडिकेटेड वार्ड बनाएकाले हामीकहाँ उहाँहरुले असुविधा भोग्नु परेन’, डा. रिजु महर्जन भन्छन् ।
यो सब पूर्वतयारीको परिणाम थियो । गंगालाल अस्पतालले कोभिड शंकास्पद बिरामीको लागि छुट्टै डेडिकेटेड इमर्जेन्सी, आईसियू र वार्डहरु बनाएको थियो । त्यसैगरी कोभिड बिरामीका लागि छुट्टै क्याथल्याब सञ्चालन गर्यो ।
लकडाउनको समयमा एकजना कोभिड संक्रमित हृदयघात भएर गंगालाल अस्पताल पुगेका थिए । उनको आकस्मिक शल्यक्रिया सफल भयो । ‘कोभिड छ भनेर जान्दाजान्दै एञ्जियोप्लास्टी गरेको यो नेपालको पहिलो केस हो’, डा. कुञ्जन शेर्पा भन्छन् ।
संक्रमणको सुरुवाती चरणमा जताततै डरको माहोल थियो । सामान्य विरामीको शल्यक्रिया रोकिएको बेला संक्रमितको शल्यक्रिया आफैंमा जोखिमपूर्ण थियो ।
त्यस्तो बेला डर लागेन ? निर्देशक डा. अधिकारी भन्छन्, ‘तत्कालै शल्यक्रिया नगरेमा मृत्यु हुने बिरामी आएपछि कुनै न कुनै डाक्टर तयार हुनै पर्थ्यो । यो त डाक्टरको कर्त्वय नै हो । त्यसकारण, अरु स्वास्थ्यकर्मीलाई काम गर्न हौसला पनि होस् भनेर म अघि सरेको हुँ ।’
त्यसपछि अन्य चारजना कोभिड संक्रमितको प्राइमरी एञ्जियोप्लास्टी गरिएको उनले बताए । ‘त्यसपछि अर्का एक कोभिड संक्रमित आउनुभयो’, डा. अधिकारी भन्छन्, ‘उहाँलाई संक्रमित भनेर फर्काउने कुरै आएन, गंगालालको कोभिड रेस्पोन्स टिमले तत्कालै पेसमेकर राख्यो ।’
त्यसपछि गंगालाल आएकी कोभिड पोजेटिभ महिला ३६ हप्ताको गर्भवती थिइन् । तत्काल मुटुको भल्भ खोलेर उपचार नगरे उनको बाँच्ने सम्भावना कम थियो । गंगालालले उनलाई पनि उपचार गरेर सकुशल फर्कायो ।
गंगालालको कोभिड रेस्पोन्स टिमले महामारीको सुरुवाती चरणमै यस्ता दर्जनौं समस्या हल गर्यो । त्यो सफलताले स्वास्थ्यकर्मीको मनोबल उकास्यो ।
पूर्वतयारीमा अब्बल
कोभिड महामारीको ८ महिनामा यो अस्पतालले १५१ जना कोभिड संक्रमितको मुटुरोग उपचार गर्यो । तीमध्ये १४ जनामा गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको थियो । त्यसक्रममा ९४ जना स्वास्थ्यकर्मी संक्रमित भए । त्यो अवस्थामा पनि अस्पतालको माहोल शान्त रहेको निर्देशक डा. अधिकारी बताउँछन् ।
‘पहिलो पटक संक्रमित आउँदा पनि हामीकहाँ अन्य अस्पतालमा जस्तो खैलाबैला भएन’, उनी भन्छन्, ‘वार्डमा नजाने वा सिल गर्ने पनि गरिएन । सबै स्वास्थ्यकर्मीले उच्च मनोबल देखाए ।’
साउनको अन्तिम साता गंगालालको २० बेडको कोभिड वार्ड भरियो । ६ बेडको क्रिटिकल केयर र १० बेडको कोभिड इमर्जेन्सी पनि भरियो । त्यो बेला निकै सकस भए पनि ‘मास ट्रान्समिसन’ नफैलिएको डा. अधिकारी बताउँछन् ।
त्योबेला कोभिड बिरामीको शल्यक्रिया होस् या शंकास्पदको उपचार, स्वास्थ्यकर्मीहरु जताततै ‘एक्सपोज’ भएकाले जोखिम पनि उच्च थियो । तर, एक्सपोज भएकाहरुको पहिलो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मनोबल कायम रह्यो ।
‘अन्य अस्पतालको उदाहरण हेर्दा पनि अत्तालिनु पर्ने अवस्था जस्तो लागेन’, निर्देशक डा. अधिकारी भन्छन्, ‘पीपीई लगाएर खटिए संक्रमण नहुने रहेछ भन्ने निष्कर्षमा सबै स्वास्थ्यकर्मी पुगे ।’
उनका अनुसार, गंगालालमा उपचार गरेका २ जना बिरामीमा अर्को अस्पतालमा रेफर भइसकेपछि संक्रमण देखिएको थियो, । ‘यहाँ हामीले मुटु रोगीको उपचार गर्नुपर्छ’, डा. बटु श्रेष्ठ भन्छन्, ‘सँगै कोभिड मुटु रोगीको पनि उपचार गर्नुपर्छ, हाम्रो लागि यो चुनौती हो ।’
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भएको मुटु रोगीको मृत्यु हुने सम्भावना ज्यादा छ । नेपालको तथ्यांकले पनि यो पुष्टि गरेको छ । त्यसैले गंगालाल अस्पतालमा बेड व्यवस्थापनको गम्भीर चुनौती थियो । ननकोभिड मुटुरोगीको बेड घटाउँदा कोभिड मुटुरोगी बाँच्न सक्थे, तर ननकोभिड मुटुरोगीले उपचार नपाउने सम्भावना बढ्थ्यो । पूर्वतयारीमा ध्यान दिँदा यो समस्या न्युन भएको डा. श्रेष्ठ बताउँछन् ।
महामारीमा एउटा सिद्धान्त छ– आफूसँग भएका स्रोतसाधनको अधिकत्तम प्रयोग गर्ने । गंगालाल अस्पतालले महामारीको सुरुमै यो सिद्धान्तलाई व्यवहारमा उतार्यो । त्यसैले यति लामो महामारीमा ठूलो समस्या भोग्नु परेन ।
संक्रमणसँगै स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्यो । अस्पतालहरुमा स्वास्थ्यकर्मीको अभाव भयो । त्यो समस्या समाधान गर्न गंगालालको कोभिड रेस्पोन्स टिमले लगातार २ हप्ता काम गर्ने गरी दुईवटा टिम बनाएर पालो लगायो । दुई साताको विदा बस्ने गरी स्वास्थ्यकर्मी अभाव हुने समस्या टारियो । वार्डहरुमा बेड अभाव टार्न अतिरिक्त बेड थपिएकै थियो ।
‘त्यसरी उलटफेर भएको गंगालालका स्वास्थकर्मीहरुको दैनिकी र जीवनशैली अहिले पनि त्यस्तै छ । लगातार २ हप्ता काम र त्यत्ती नै विदाले तनाव व्यावस्थापनमा सहयोग पुगेको कोभिड टिमकी नर्स प्रतिवादन डंगोल बताउँछिन् ।
आफ्नै कोभिड रेस्पोन्स प्रोटोकल
युरोपमा कोरोना महामारी फैलिदै गर्दा गंगालाल अस्पतालको एउटा टिम त्यहाँका मुटुरोगी उपचार हुने अस्पतालको कोभिड प्रोटोकल अध्ययन गर्दै थियो । नेपालमा कोभिड छिर्दा त्यो टिमले गंगालालको आफ्नै कोभिड–१९ रेस्पोन्स प्रोटोकल बनाइसकेको थियो ।
अन्य अस्पतालहरुले सुरुक्षा कवचको लागि सरकारसँग गुहार गरिरहेको बेला गंगालालले आफैं डिजाइन गरेर गुणस्तरीय सुरक्षा कबच पनि सिलाइसकेको थियो । प्रोटोकल र बेड व्यवस्थापनदेखि सुरक्षा कवचको जोहो गर्नेसम्मका कुरामा अरु अस्पतालभन्दा गंगालाल दुई कदम अगाडि रह्यो । सुरुबाटै जोहोमा लागेकाले अहिलेसम्म बेड र सुरक्षा कवचको समस्या नरहेको डा. अधिकारी बताउँछन् ।
महामारीकालमा अब्बल सेवा दिन सकेकोमा गंगालालका कोभिड रेस्पोन्स टिम खुशी छ । जीवनको माया मारेका बिरामीहरुले निको भएर दिएको आशिष लागेको टिमका सदस्यहरु बताउँछन् ।
उपचारसँगै उनीहरु अनुसन्धानको काममा पनि खटेका छन् । कोभिड महामारीबिच गंगालालका डाक्टरहरुको १३ वटा रिसर्च पेपर बिभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भए । प्लाज्माथेरापी, रेमडिसिभिर, फाभिपिराभिर लगायतको अनुसन्धान अहिले पनि जारी छ ।
यो पनि पढ्नुहोस आपतकालका जब्बर डाक्टर अनुप यो पनि पढ्नुहोस संक्रमितको साथी : भक्तपुरको ‘आरएनए- १६’ यो पनि पढ्नुहोस एम्बुलेन्स चालक समसुल मियाँ, जसले सिंगो पर्सा थामेका छन् यो पनि पढ्नुहोस बिरामीलाई हातले छोएर उपचार गर्न पाए हुन्थ्यो ! यो पनि पढ्नुहोस ‘कोरोनाले मलाई जितिसकेको थियो…’ यो पनि पढ्नुहोस कोरोना कहरमा चिनिएका डाक्टर यो पनि पढ्नुहोस सुदूरमा खटिएका डा. अशोक यो पनि पढ्नुहोस कान्छो फ्रन्टलाइनर : फोहोरदेखि शवसम्म उठाउँछन् यो पनि पढ्नुहोस उनको प्रतीक्षा कहिले सकिएला ? यो पनि पढ्नुहोस प्लाज्माथेरापीका नेपाली पायोनियर यो पनि पढ्नुहोस संक्रमित हुने पालो कुर्दै अरुको स्वाब परीक्षण यो पनि पढ्नुहोस सत्तालाई निरन्तर खबरदारी गर्ने डाक्टर यो पनि पढ्नुहोस कोरोना संकटमा राष्ट्रिय आविष्कार केन्द्रको भरथेग यो पनि पढ्नुहोस एउटा मान्छेको मेहनतले कति फरक पर्दोरहेछ महामारीमा यो पनि पढ्नुहोस क्वारेन्टिनमा बस्दा आमालाई सम्झिन्छु : डा. रुपेश गामी