+
+

शिशुको मृत्यु भएपछि नोबेल अस्पतालमा आफन्तको आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १३:४०

३१ चैत, विराटनगर । नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् ।

इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको आफन्तको दावी छ ।

भ्याकुम प्रयोगबाट जन्मिनेवित्तिकै छोरालाई आईसीयूमा राखिएको र तीन घण्टामा मृत्यु भएको जानकारी आफूहरुलाई दिइएको सरिताका श्रीमान मनिषले बताए ।

चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै आफन्तले शव नबुझेपछि ७ दिनदेखि शिशुको शव अस्पतालमै छ ।

शिशुकी आमालाई डिस्चार्ज गरी घर लगिएको छ र आफन्तले चिकित्सकले लापरबाही गरेको भन्दै कारबाहीको माग गरेका छन् । लापरवाही गर्नेलाई कारवाही प्रक्रिया अघि नबढेसम्म शव जिम्मा नलिने छिमेकी होमेश्वर ठाकुरले बताए । आफन्तले भने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

नोबेल मेडिकल कलेजले भने चिकित्सकको लापरवाही नभएको दाबी गरेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले अनुसार प्रसूति गराउँदा भ्याकुमको प्रयोग भएपनि चिकित्सकले लापरवाही नगरेको बताए ।

टाउकोमा प्वाल परेको हल्ला पनि गलत भएको उनको दाबी छ । ‘पटक पटक छलफल भएको छ तर उहाँहरु चिकित्सकको कुरा सुन्नु हुन्न,’ उनले भने, ‘क्षतिपूर्ति माग गरिरहनुभएको छ, कारवाहीको माग भए सम्बन्धित निकायमा उजुरी गर्नुहोस् भनेका छौं ।’

भर्खर जन्मिएको बच्चाको टाउको नरम हुने भएकाले सामान्य असर गरेको उनको दाबी छ । आफन्तले शव जिम्मा नलिएपछि अस्पतालमै शव राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?