Comments Add Comment

भौतिक दूरी कायम गरेर लुम्बिनीमा प्रार्थना

१२ जेठ, बुटवल । २५६५ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष भने आन्तरिक र वाह्य पर्यटक, भिक्षु–भिक्षुणी, बौद्धमार्गीहरुको भिड लागेन ।

लुम्बिनी विकास कोषले औपचारिक कार्यक्रम नै आयोजना गरेर स्वदेश तथा विदेशका राष्ट्र प्रमुखलाई निम्त्याउने गरेकोमा कोरोना महामारीका कारण स्थानीयवासी र बौद्ध भिक्षुभिक्षुणीहरुले भौतिक दुरी कायम गरेर प्रार्थना गरेर बुद्ध जयन्ती मनाएका छन् ।

कोरोना महामारीको असर परेको थिएन भने लुम्बिनीका एक सय बढी होटेल र हेण्डिक्राफ्ट पसलका व्यवसायीहरूमा बिहानैदेखि व्यस्तता बढ्न थाल्थ्यो । गतवर्ष पहिलो चरणको कोरोना भाइरस महामारी कम भएपछि एक दुई महिना खुलेको लुम्बिनी दोस्रो चरणको महामारीसँगै फेरि बन्द छ । मायादेवी मन्दिरसहित विकास कोष भित्रका बिहारहरु पनि बन्द छन् ।

कोरोना महामारीका कारण यसवर्ष बुद्ध जयन्तीमा विशेष कार्यक्रम गर्ने अवस्था नभएकाले सामान्य पूजापाठ, वृक्षारोपण र सांझ दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाउन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउंछन् ।

मुख्यमन्त्री पोखरेल पनि सहभागी

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेर पूजा र मन्त्रोच्चारणमा सहभागी भएका छन् । लुम्बिनीमा उपलव्ध महायानी, बज्रयानी र थेरवादी भिक्षु भिक्षुणी, गुरु/गुरुआमा, लामा गुरुहरुसँगै धार्मिक पूजा तथा मन्त्रोचारणमा मुख्यमन्त्री सहभागी भएका हुन् ।

उनीसंगै लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दलका प्रमुख सचेतक फखरुद्दिन खान पनि पूजामा सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री श्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

Mayadevi Temple with flower

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment