+
+

पाण्डा गर्भवती भएको खबरले शेयर बजारमा उछाल !

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २६ गते ६:४५

यो शेयर बजार भन्ने चिजै यस्तो । यसलाई घट्न र बढ्नका लागि ठूलो निहुँ नै नचाहिने । जापानमा हालै एउटा पाण्डा गर्भवती भएको खबरले शेयर बजारमा एकाएक उछाल आयो।

जापानको टोक्योस्थित उइनो चिडियाखानामा रहेको एउटा पाण्डा गर्भवती भएको हुनसक्ने खबर सार्वजनिक भएसँगै टोक्योका विभिन्न रेष्टुरेन्टहरुको शेयर मूल्यमा शुक्रबार उल्लेख्य बढोत्तरी भएको हो।

चिडियाखानाका अनुसार १५ वर्षको शिन-शिन नामक पोथी पाण्डाले आफु गर्भवती भएको लक्ष्ण देखाएको छ ।

यद्यपि पाण्डा गर्भवती भए नभएको पुष्टि हुनचाहिँ बाँकी रहेको छ । जीव वैज्ञानिकहरुका अनुसार स्तनधारी जनावरहरुमा गर्भधारण भएको जस्तो लक्षण देखिने तर वास्तविकरुपमा गर्भधारण नहुने घटना धेरै हुन्छन् ।

टोक्योको उइनो चिडियाखाना कोरोना भाइरस महामारीका कारण ५ महिनासम्म बन्द भएर शुक्रबारबाट मात्र खुलेको छ ।

खुल्ने बित्तिकै पाण्डा गर्भवती भएको खबर आएसँगै चिडियाखानामा पर्यटकको संख्या ह्वात्तै बढ्ने पूर्वानुमान गरिएको छ । चिडियाखानामा आउने पर्यटकका कारण आसपासका रेष्टुरेन्टहरुको व्यापार पनि चम्किने प्रक्षेपणका कारण आसपासका विभिन्न ठूला चेन रेष्टुरेन्टहरुको शेयर मूल्यमा उछाल आएको बताइएको छ।

टोक्योस्थित चाइनिज रेष्टुरेन्ट टोटेन्कोको शेयर मूल्यमा शुक्रबार ३० प्रतिशतले बढोत्तरी भयो । यसअघि सन् २०१३ र २०१७ मा पनि उक्त पाण्डा गर्भवती भएको हुनसक्ने भनी चिडियाखानाले घोषणा गरेसँगै टोटेन्को रेष्टुरेन्टको शेयर मूल्य यसैगरी बढेको थियो । तर पछि उक्त पाण्डाले गर्भाधारण नगरेको पुष्टि भएको थियो।

यसपटक पाण्डा गर्भवती भएको हुनसक्ने खबर सार्वजनिक भएसँगै टोक्योस्थित फ्रेन्च रेष्टुरेन्ट सेइयोकेनको शेयर मूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ । यी दुवै रेष्टुरेन्ट उइनो चिडियाखानाको नजिकै रहेका ठूला रेष्टुरेन्ट चेन हुन् ।

चिडियाखानाका अनुसार पोथी पाण्डाले पछिल्लोपटक गत मार्च ६ मा भाले पाण्डासँग संसर्ग गरेको थियो ।

चिडियाखानाको पोथी पाण्डा शिन-शिन र भाले पाण्डा री-री दुवै चीनबाट लोनमा ल्याइएको थियो ।

पछिल्लोपटक पोथी पाण्डा शिन-शिन गर्भवती भएको हुनसक्ने घोषणा गर्दै चिडियाखानाले विज्ञप्ति नै जारी गरेको छ । विज्ञप्तिमा शिन-शिनले खानेकुरा कम खान थालेको र बढी आराम गर्न थालेको भन्दै सो गर्भवती पाण्डाको लक्षण भएको उल्लेख छ।

स्मरण रहोस् उक्त पाण्डाले सन् २०१२ मा बच्चा जन्माएको थियो, तर केही दिनमै उक्त बच्चा परेको थियो । त्यतिबेला पाण्डाले बच्चा जन्माउनु केही दिन अघिमात्रै ऊ गर्भवती रहेको थाहा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?