+
+

वीरगञ्जमा निषेधाज्ञा थपिएपछि विद्यालय सञ्चालनको कार्यतालिका प्रभावित

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असार १ गते १३:२६
फाइल तस्वीर

१ असार, वीरगञ्ज । वीरगञ्जमा असार १ देखि विद्यालय सञ्चालनको तयारी भए पनि असार ६ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि विद्यालय सञ्चालनको कार्यतालिका प्रभावित भएको छ ।

जेठ २१ गते राति सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिक रुपमा कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो ।

जसमा विभिन्न शर्तहरुको पालना गरी असार १५ गतेदेखि नियमित रुपमा पठनपाठन गराउन भनिएको थियो । असार १ गतेदेखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय कार्य गर्ने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताहअन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने महानगरको तयारी थियो । त्यस्तै असार १५ गतेपछि नियमित रुपले पठनपाठन सञ्चालन गर्ने भनी महानगरपालिकाले विद्यालयमा पत्र पठाएको थियो ।

महानगरपालिकाको निर्देशन अनुसार विद्यालयहरुले अघिल्लो शैक्षिक सत्रको नतिजा सार्वजनिक गर्नुका साथै वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न आवश्यक तयारी थालिसकेका छन् । तर निषेधाज्ञाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी भने प्रभावित हुने देखिएको छ ।

वीरगञ्जस्थित रेल्वे माविका प्रधानाध्यापक दिनेश चौरसियाले १५ गतेपछि पनि वातावरण अनुकुल भए मात्रै विद्यालय सञ्चालन गर्न सकिने बताए । ‘नतिजा निकाल्ने लगायतका आन्तरिक काम भइरहेको छ, ८ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने र १५ गतेपछि विद्यालय सञ्चालन गर्नु भनिएको छ,’ उनले भने, ‘वातावरण अनुकूल भयो भने विद्यालय खुल्छ होला ।’

निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह केन्द्र र पालिकाबाट अर्को निर्णय नआउँदासम्म पछिल्लो सूचनालाई आधार मानेर विद्यालय सञ्चालन गर्ने बताउँछन् ।

‘हामी सरकारको निर्देशन अनुसार चल्ने हो, ७ गतेसम्म नतिजा लगायत आन्तरिक काम गर्न, ८ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न र १५ गतेपछि शर्त पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्न भनिएको छ,’ उनले भने, ‘७ गतेपछि निषेधाज्ञा खुकुलो भयो, केन्द्र वा पालिकाले अर्को निर्देशन दिएन भने यसैलाई आधार मानेर अघि बढ्छौं ।’

कतिपय विद्यालय तथा कलेजका सञ्चालकहरुले भने महानगरपालिकाले तोकेको शर्तहरुको पालना गरेर विद्यालय सञ्चालन गर्न कठिन रहेको बताएका छन् । उनीहरुले अभिभावकसँग सहमति लिन खोज्दा अभिभावक तयार नभएको बताए । तसर्थ विद्यार्थीको स्वास्थ्यसँग खेलवाड गर्न नसकिने उनीहरुको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण स्थिति अनुकूल भएमा असार १५ गतेबाट कक्षा ८ देखि १२ सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरेको बताउँछन् । ‘भर्चुअल गर्ने वा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने हो, अभिभावकको सहमति पहिलो शर्त हो ।’

तर महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गर्दा स्थानीय प्रशासनसँग यसअघि समन्वय नगरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । ‘महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गर्दा समन्वय भएको थिएन, खोल्ने तयारी गर्नुभएको रहेछ, पछि नखोलौं भन्ने कुरा भएको हो,’ उनले भने ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?