+
+
Shares

बेनीका १५ विद्यालयको कक्षा घटुवा र एक वटा बन्द

म्याग्दीको बेनी नगरपालिकाले यस वर्ष एक वटा विद्यालय बन्द, १५ विद्यालयको कक्षा घटुवा तथा तहमिलान गरेको छ । विद्यार्थी अभावका कारण बेनी नगरपालिका–५ मा रहेको चेतना आधारभूत विद्यालय बन्द भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते २०:१२

२ वैशाख, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले यस वर्ष एक वटा विद्यालय बन्द, १५ विद्यालयको कक्षा घटुवा तथा तहमिलान गरेको छ । विद्यार्थी अभावका कारण बेनी नगरपालिका–५ मा रहेको चेतना आधारभूत विद्यालय बन्द भएको हो । कक्षा घटुवा, तह मिलान र बन्द भएका विद्यालयका ३२ जना शिक्षकहरूलाई विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयहरूमा व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

१–३ तहको पठनपाठन हुँदै आएको चेतना आधारभूतमा नयाँ भर्ना हुने विद्यार्थी नभएकाले बन्द भएको गरिएको नगरपालिकाले जनाएको छ । यसअघि गत वर्ष बेनपा–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका थिए ।

१–३ तहको पठनपाठन हुने बेनपा–१ को ज्ञानपुञ्ज, २ को हंशबाहिनी, वडा नं ३ को नवज्योती र भूमे आधारभूतमा बालकक्षा मात्र कायम भएको नगरपालिकाले जनाएको छ । रत्नेचौरको भानु माविलाई १–१२ बाट १–८, गलेश्वरको जडभरत संस्कृति माविलाई १–१० बाट १–८, थाकनपोखरी र राधाकृष्ण आधारभूतलाई १–८ बाट १–५ मा झारिएको छ ।

१–५ तहका बराह, ज्ञानपुञ्ज, नवदुर्गा, विद्यामन्दिर, बरनाथ, स्यालीखेत र चन्द्रोदय आधारभूत विद्यालयमा १–३ कक्षा कायम भएको छ । नगरप्रमुख सुरत केसीले ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने १७ औं नगरसभाको निर्णयअनुसार विद्यार्थी सङ्ख्या कम भएका विद्यालयका शिक्षकहरूको दरबन्दी बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई उपलब्ध गराएको बताए ।

‘गत भदौ महिनामा कार्यदल बनाएर विद्यालयहरूको स्थलगत अनुगमन, विषयगत समिति, समुदाय र वडास्तरमा विभिन्न चरणमा भएको छलफलमा प्राप्त सुझावअनुसार गत चैत २७ गतेको कार्यपालिका बैठकले गरेको विद्यालयको तह र कक्षा कटुवा तथा शिक्षक व्यवस्थापनको निर्णय नयाँ शैक्षिकसत्रको सुरुआतसँगै कार्यान्वयनका लागि पत्राचार गरिसकेका छौँ’, उनले भने, ‘अहिले तह र कक्षा घटाइएका विद्यालयमा विद्यार्थी सङ्ख्या भएमा तह र कक्षा थप गर्ने नीति लिएका छौँ ।’

कार्यपालिकाले गरेको तहअनुसारको प्रअ नियुक्ति गर्नका लागि पनि विद्यालयहरूलाई पत्राचार गरिएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । माविमा मावि, १–८ तहको आधारभूतमा निमावी र १–५ को आधारभूतमा प्रावि तहका माथिल्ला बरियताक्रममा रहेका शिक्षक प्रअ हुने गरी शिक्षकहरूलाई व्यवस्थापन गरिएको उनले बताए ।

बन्द भएका विद्यालयहरूको भौतिक सम्पत्तिको मूल्याङ्कन गर्न उपसमिति गठन भएको र उक्त सम्पत्ती तथा कागजात नजिकको विद्यालयमा राखिने नगरपालिकाले जनाएको छ । दोस्रो चरणमा तह समायोजन र पुलमा रहेका शिक्षकहरूलाई विषयगत रूपमा आवश्यकताको आधारमा विद्यालयमा खटाउने तयारी नगरपालिकाले गरेको छ । बेनी नगरपालिकामा ५५ वटा सामुदायिक विद्यालय छन् ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।

कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।

तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?